Fri. Jan 10th, 2025

अमेरिका इच्छुक नभए युक्रेनलाई समर्थनको नेतृत्व गर्न इयु तयार छ : कालास 

ब्रसेल्स, २०८१ पुस २६ गते शुक्रबार ।  युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख काजा कालासले बिहीबार राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि पनि संयुक्त राज्य अमेरिकाले युक्रेनलाई समर्थन जारी राख्ने आशा गरेको र यदि त्यसो नभए इयु नेतृत्व लिन तयार रहेको बताउनुभएको छ ।

“म साँच्चै विश्वस्त छु कि अन्य सबै सदस्यहरू र आशा छ कि संयुक्त राज्य अमेरिका पनि युक्रेनलाई समर्थन जारी राख्न तयार छ”, कालासले जर्मनीमा रहेको एक अमेरिकी सैन्य अड्डामा युक्रेनलाई समर्थन गर्ने देशहरूको बैठकमा भाग लिँदै भन्नुभयो, “यदि संयुक्त राज्य अमेरिका त्यसो गर्न इच्छुक छैन भने इयु यो नेतृत्व लिन पनि तयार छ ।”

पत्रकारहरूसँग कुरा गर्दै उहाँले यस चरणमा ‘हामीले भविष्यको अमेरिकी समर्थनबारे वास्तवमा अनुमान लगाउनु हुँदैन, अमेरिकाको युरोपमा महत्त्वपूर्ण चासो छ र रुस विश्वको सबैभन्दा बलियो शक्ति बन्नु अमेरिकाको हितमा छैन’ भन्नुभयो ।

एएफपीका अनुसार  “त्यसैले म विश्वस्त छु कि नेतृत्वले पदभार ग्रहण गरेपछि उनीहरूले पनि ठूलो तस्वीर देख्न सक्छन्”, ट्रम्पको जनवरी २० को शपथ ग्रहणअघि उहाँले भन्नुभयो ।

युक्रेनमा पश्चिमी सेनाले ’रूसलाई शान्तिमा बाध्य पार्न’ मद्दत गर्नेछ : जेलेन्स्की

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बिहीबार युक्रेनमा पश्चिमी सेनाको तैनाथीलाई ‘रुसलाई शान्तिमा बाध्य पार्ने’ ‘सर्वोत्तम साधनहरू’ मध्ये एकका रूपमा समर्थन गर्नुभएको छ ।

उहाँका अनुसार यो महिनाको अन्त्यमा डोनाल्ड ट्रम्प ह्वाइट हाउस फर्किँदा युरोप ‘नयाँ अध्याय’ मा प्रवेश गर्दैछ र ‘नयाँ अवसरहरू’ प्राप्त हुनेछ ।

“हाम्रो लक्ष्य रुसलाई शान्तिमा बाध्य पार्न सक्दो धेरै साधनहरू खोज्नु हो”, जेलेन्स्कीले जर्मनीमा युक्रेनका रक्षा सहयोगीहरूको बैठकमा भन्नुभयो ।

नाटो देशहरूले युक्रेनमा सेना पठाउने सम्भावनाबारे भएका छलफलहरूको सन्दर्भमा उहाँले भन्नुभयो, “साझेदारहरूको यस्तो तैनाथी सर्वोत्तम साधनहरू मध्ये एक हो भन्ने मलाई विश्वास छ, यसलाई सम्भव बनाउन हामी अझ व्यावहारिक बनौँ ।”

जेलेन्स्कीले पश्चिमाले लडाकू सेना पठाउने वा करिब तीन वर्षको युद्ध अन्त्य गर्ने कुनै सम्झौताको भागका रूपमा शान्ति सैनिक पठाउने बारे कुरा गरिरहेको थियो भनेर स्पष्ट पार्नुभएन ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले लडाइँको द्रुत अन्त्य गर्ने वाचा गर्नुभएको छ र बारम्बार रुसले आक्रमण गरेदेखि ६५ अर्ब डलर नाघेको अमेरिकी सैन्य सहयोगमाथि प्रश्न उठाउनुभएको छ ।

रक्षामन्त्री लोयड अस्टिनले बिहीबार जनवरी २० मा हुने ट्रम्पको शपथ ग्रहणअघि करिब ५० करोड डलरको नयाँ अमेरिकी सहायताको घोषणा गर्नुभयो ।

“अब ११ दिनपछि युरोप र सम्पूर्ण विश्वका लागि एक नयाँ अध्याय सुरु हुँदैछ भन्ने स्पष्ट छ, यस्तो समय जतिबेला हामीले अझ बढी सहयोग गर्नुपर्दछ, एकअर्कामा अझ बढी भर पर्नुपर्दछ र सँगै अझ ठूला परिणामहरू प्राप्त गर्नुपर्दछ”, जेलेन्स्कीले भन्नुभयो, “म यसलाई अवसरहरूको समयका रूपमा हेर्छु ।”

उहाँले यो भेलालाई रूसी सेनाहरू विरुद्ध अग्रपङ्क्ति र त्यसभन्दा बाहिर प्रयोग गर्न ‘ड्रोनको भण्डार’ निर्माणमा मद्दत गर्न युक्रेनका सहयोगीहरूलाई ‘आग्रह’ गर्न पनि प्रयोग गर्नुभयो । “ड्रोन यस्तो कुरा हो जसले युद्धको प्रकृति परिवर्तन गरिसकेको छ… ड्रोनले शत्रुलाई रोक्छ, उनीहरूलाई दूरीमा राख्छ”, उहाँले भन्नुभयो ।

किएभले दुई देशको साझा सीमाबाट पाँच सय किलोमिटर पछाडि रहेको रूसी सैन्य हवाई क्षेत्र आपूर्ति गर्ने तेल डिपोमा आक्रमण गरेको एक दिनपछि जेलेन्स्कीले बोलिरहनुभएको थियो ।

जेलेन्स्कीले रुसको पश्चिमी कुर्स्क क्षेत्रमा आफ्ना सेनाको आक्रमणलाई ‘गत वर्ष मात्र नभई, पूरै युद्धकै सबैभन्दा ठूलो जित’ मध्ये एक भन्नुभएको छ ।

रुसले सप्ताहन्तमा युक्रेनले त्यहाँ नयाँ ‘प्रतिआक्रमण’ गरेको बताएको थियो । यसबारे जेलेन्स्कीले कुनै टिप्पणी गर्नुभएको छैन ।

ट्रम्प सत्तामा फर्कनुअघि दुवै पक्षले द्वन्द्वमा उच्च स्थान सुरक्षित गर्न खोजिरहेका छन् ।

Facebook Comments