Sun. Jan 5th, 2025

च्याउ महोत्सव काठमाण्डूमा सम्पन्न, च्याउको बीउमा आत्मनिर्भर हुनेगरी काम गरिरहेको कृषिमन्त्री अधिकारीको भनाई

रमेश हतुवाली/काठमाण्डू, २०८१ पुस १५ गते सोमबार । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको बीउमा आत्मनिर्भर हुनेगरी सरकारले काम अघि बढाएको बताउनुभएको छ ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीलाई राजा च्याउ उपहार दिँदै च्याउ उत्पादक कृषक । फोटो/रमेश हतुवाली

आज राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपालले काठमाण्डूको भृकुटीमण्डपमा  आयोजना गरेको एक दिने च्याउ महोत्सवमा मन्त्री अधिकारीले सो कुरा बताउनुभएको हो । उहाँले काभ्रेको खोपासीमा च्याउ स्रोत केन्द्रको स्थापनाका लागि डिपिआर सम्पन्न भइ कार्य अघि बढिसकेको बताउनु भयो । उहाँले उक्त केन्द्रको निर्माण पश्चात नेपाल गुणस्तरीय च्याउको बीउ निर्माणमा आत्मनिर्भर हुने विश्वास व्यक्त गर्नुभयो ।

थैलामा उम्रदै गरेको च्याउ । फोटो/रमेश हतुवाली ।

च्याउ खेतिबाट किसानको आयआर्जन बढाउन, पोषणयुक्त खाद्यपदार्थको उपलब्धता बढाउन र निर्यातको सम्भावना बढाउन समेत टेवा पुग्ने मन्त्री अधिकारीको भनाई थियो । उहाँले च्याउको गुणस्तरीय बीउको समस्याको कारण उत्पादक र उत्पादकत्व कम भएको उल्लेख गर्दै स्वदेशमै च्याउको गुणस्तरीय बीउ उत्पादनतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

मुढामा उम्रदै गरेको सिताके च्याउ । फोटो/रमेश हतुवाली ।

मन्त्री अधिकारीले च्याउ खेतिको सुदृढिकरणका लागि सरकार, निजी क्षेत्र र किसानहरुको संयुक्त प्रयास आवश्यक रहेको समेत बताउनु भयो ।

भृकुटी मण्डपस्थित च्याउ महोत्सवका स्टलहरु । फोटो/रमेश हतुवाली ।

मेलामा विभिन्न ४० वटा स्टलहरु रहेका थिए । मेलाले किसानलाई च्याउखेतीतर्फ आकर्षित गर्ने विश्वास लिइएको छ ।

भृकुटी मण्डपस्थित च्याउ महोत्सवमा सहभागीहरु । फोटो/रमेश हतुवाली ।

व्यवसायीहरुले यस्ता मेलाको माध्यमबाट किसानका समस्या सरकारसम्म पुग्ने र कृषि क्षेत्रको प्रवद्र्धनमा युवा पुस्ताको सहभागितासमेत बढ्ने विश्वास गरेका छन् । कार्यक्रमका वक्ताहरुले प्रत्येक वर्षको पुस १५ गतेलाई राष्टिय च्याउ दिवसको रुपमा मनाउन सरकारसँग माग पनि गरेका छन् ।

महोत्सवमा विभिन्न कलाकारहरुले भव्य सांगितिक प्रस्तुतीमार्फत सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

Facebook Comments