बोरा बिछ्याएर पढिरहेका विद्यार्थी र सात वर्षदेखि तलब नपाएका एक शिक्षकप्रति स्थानीय सरकार उदासीन भएको गुनासो
चन्द्रपुर (रौतहट), २०८१ पुस १० गते बुधबार । फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् । बकैया नदीको ‘ड्याम’मा स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर जग्गामा २०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको हो ।
विद्यालयमा कुनै किसिमको फर्निचर तथा भवन नभएकै कारण अध्ययन गर्ने बालबालिका भुइँमा बोरा ओछ्याएर पढ्दै आएका छन् । भवनको नाममा दुईवटा स–साना छाप्रो छन् । अहिले पनि सो विद्यालयमा अध्ययन गर्ने बालबालिका भुइँमा नै बसेर अध्ययन गरिरहेका छन् । सो विद्यालयका कक्षा ३ मा अध्ययनरत रबिताकुमारी मुखियाले पढ्ने वातावरण नै नभएको बताउनुभएको छ । विद्यालयका समस्याप्रति स्थानीय सरकार उदासीन भएका उहाँको गुनासो छ ।
राससका अनुसार स्कुलमा डेस्क, बेञ्च, भवन, शौचालय केही पनि नभएको उहाँले गुनासो गर्नुभयो । अर्का विद्यार्थी सुवोधकुमार पटेलले पनि फर्निचर अभावमा पढ्न कठिनाइ भएको बताउनुभयो । अहिले फर्निचर र भवनमात्र भए पनि पढ्न सहज हुने पटेलले बताउनुभयो । बाल विकास कक्षामा अध्ययन गर्न बालबाललिकाले बोरा लिएर जाने गरेका छन् । घरबाट बोरा नल्याउनेले चिसो भुइँमा बस्नुपर्ने बाध्यता रहेको निमित्त प्रधानाध्यापक हीरालालप्रसाद यादवले बताउनुभयो ।
हाल उक्त विद्यालयमा चारजना बाल विकास शिक्षिका, दुई सङ्घीय अनुदानका शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन् । स्थापना भएको १७ वर्षमा सो विद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक छैनन् विद्यालयमा अध्ययन र अध्यापन गराउन एकदमै असहज भएको प्रधानाध्यापक यादवले बताउनुभयो । विद्यालय स्थानीय तह मातहत आएको आठ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्थामा परिर्वतन नहुनु राजनीतिक मतभेद भएको उहाँको बुझाई छ ।
सोही विद्यालय स्थानन्तरणका लागि २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित फतुवा विजयपुर नगरपालिका–१ का तत्कालीन वडाध्यक्ष सञ्जय साहले चार कठ्ठा जमिन खरिद गरेर पाँचकोठे भवन बनाउनुभएको थियो । तर उक्त जमिन रौतहट क्षेत्र नं ३ का सांसद प्रभु साहको तराई मधेश समृिद्ध प्रतिष्ठानका नाममा खरिद गरेका कारण विद्यालय सार्न नसकिएको प्रधानाध्यापक यादवले जानकारी दिनुभयो ।
विद्यालयका नाममा बजेट लिएर जमिन र भवन विद्यालयको नाममा नगर्दा विद्यार्थीले सास्ती खेप्नुपरेको प्रधानाध्यापक यादवले बताउनुभयो । वि.सं. २०७९ मा निर्वाचित नगरप्रमुख निलम्बनमा परेको र हालका कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले विद्यालयको अवस्थाबारे चासो नदिएको उहाँले गुनासो गर्नुभयो । सामान्य वर्षा र प्रचण्ड गर्मीमा पनि विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक यादवले बताउनुभयो । मधेश प्रदेश सरकारका अर्थमन्त्री जितेन्द्र यादव सोही नगरका भए पनि विद्यालयको समस्या समाधान नभएकामा उहाँ खिन्न हुनुहुन्छ ।
साउनदेखि खाजा खुवाउन सकेको छैन
पकाउने र भाँडा राख्ने ठाउँको अभाव देखाउँदै विद्यालयले गत साउनदेखि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खुवाउन नसकेको प्रधानाध्यपक यादवले जानकारी दिनुभएको छ । बाढीले हाजिर रजिष्ट्रर बगाएको स्मरण गर्दै प्रअ यादवले भौतिक पूर्वाधार अभाव झेल्नुपरेको गुनासो गर्नुभयो । विद्यालयमा एक सय ७५ विद्यार्थी छन् ।
यो विद्यालयमा ६० प्रतिशत छात्रा र चार शिक्षिका छन् । शौचालय अभावमा उनीहरू दिसापिसाप गर्न आफ्नै घर वा नजिकैको उखुबारी जानुपर्ने बाध्यता छ ।
सात वर्षदेखि तलबविहीन
सोही विद्यालयमा अध्यापनरत एक शिक्षकले सात वर्षदेखि तलबविहीन भएर काम गरिरहेको गुनासो गर्नुभयो । वि.सं. २०७५ असोज ६ गते आफूले राहत दरबन्दीमा नियुक्त भएको तर हालसम्म एक रूपैयाँ तलब नपाएको शिक्षक रामप्रवेश बैठा धोबीले बताउनुभयो । फतुवा विजयपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय यादवले तलब दिने आश्वासन दिएको तर कहिले पाउने हो टुङ्गो नभएको शिक्षक धोबीले बताउनुभयो । सोही विद्यालयका प्रधानाध्यापक हीरालाल यादवले भने विद्यालयमा राहत दरबन्दी नै नभएको जानकारी दिनुभयो ।
फतुवा विजयपुर नगरपालिका–१ का वडाध्यक्ष विजयकुमार यादवले चाँडै अर्को ठाउँमा सो विद्यालयका लागि जमिन खरिद गर्ने जानकारी दिनुभएको छ । वडाध्यक्ष यादवले जमिन खरिद गरेर भवन बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।