Sat. Oct 12th, 2024

दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु   

काठमाण्डू, २०८१ असोज २६ गते शनिबार । “एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दसैँको टीका लगाएर प्लेन चढ्छु भनेको थिए, मलेसियाबाट कम्पनी साउले बरु जागिर छाड्न सक्छौँ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दसैँ र परिवारभन्दा जागिर प्यारो भयो सर”, सर्लाहीका अजय मेहताले भने ।

दसैँको अघिल्लो दिन घरबाट केही थान कपडा बोकेर वैदेशिक रोजगारीमा हिँडेका मेहताका लागि यो बाध्यता रह्यो । शुक्रबार साँझपख बोर्डिङ पास लिनु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको भीडमा भेटिएका मेहताका लागि दसैँको अघिल्लो दिन घर छाड्नु निकै कष्टहर भयो । सर्लाहीको घरमा हिजो गर्भवती श्रीमति चाँदनीदेवी र आमा उर्मिलादेवीले रुँदै हात हल्लाएर बिदा गरेको क्षण सम्झँदै गर्दा उनका पनि आँखा टिल्पिलाए ।

राससका अनुसार  मेहताको जस्तै पीडा सिराहाका घनश्याम यादवको पनि छ । दसैँको टीका र अभिभावकको आशीर्वाद लिएर विमानमा बस्ने योजना समय र परिस्थितीले पूरा हुन दिएन । “दसैँ मनाएरै जान्छु भन्ने त थियो तर मेरो रहरलाई बाध्यताले जित्यो”, रासससँगको कुराकानीमा उनले भने ।

वैदेशिक रोजगारीका लागि साउदी हिँडेका यादवले कम्पनीले दुई महिनाको छुट्टी दिएको थियो । तर दुई महिनाको लामो छुट्टीमा पनि दसैँ एक दिनले अट्न सकेन । “कम्पनीममा फोन गरेर बिदा लम्बाउन सकिन्छ कि ट्राइ गरेको हो नि, तर मिलेन, उनीहरुलाई हाम्रो दसैँको महत्व थाहा नभएर पनि हुनसक्छ”, उनले भने ।

दसैँको अघिल्लो दिन विमानस्थलको भीडमा धनुषाका विनयकुमार यादव पनि भेटिए । विमान चढ्नुअघि सम्झनाका लागि केही थान तस्बिर लिँदै गरेका उनी पनि कामको सिलसिलामा साउदी अरब हिँडेका रहेछन् । महान पर्व दसैँका बीचमा परिवार र आफन्त छाड्नुपर्दाको पीडा उनको मनमा पनि गडेर बसेको छ । “अरु दसैँमा घर आउँछन्, हामी दसैँमा छाड्नु परेको छ । यो हाम्रो बाध्यता भयो, यहाँ म जस्ता हजारौँको पीडा पनि उस्तै त होला भनेर चित्त बुझाएको छु”, उनले भने । उनले साउदी अरबमा मर्मतसम्बन्धी कम्पनीमा काम गरिरहेको बताए ।

वैदेशिक रोजगारीका लागि दसैँ छाडेर कतार हिँडेका चितवनका अरुण रम्तेलको मन पनि निको छैन । प्लस टुमा होटल व्यवस्थापनको पढाइ पूरा गरेपछि उनी जागिर खोज्दै विदेश हिँडेका रहेछन् । बुबा मलेसियामै काम गरिरहनुभएकाले आफू पनि विदेश नै रोजेको उनले सुनाए ।

आमा सम्झना रम्तेलले आशु पुछ्दै विमानस्थलको टर्मिनलमा छोरालाई नेपालको झण्डा पहिराएर बिदाई गर्दा अरुणका पनि आँखा रसाए । रम्तेलले भने, “बाबा पनि विदेशतिरै हुनुहुन्छ, भाइको पढाइ र घरखर्चका लागि म पनि त्यतै जानुपर्ने भयो, भिसा र टिकटको काम सकिएपछि दसैँका लागि कुर्न सकिएन”, उनले भने ।

त्यसैगरी लुम्बिनीका ओमप्रकाश चौबे वैदेशिक रोजगारीका लागि दुबईका लागि प्लेन चढ्नु अघि विमानस्थलको टर्मिनल मै भेटिए । केही समयअघि बिदा लिएर घर आएका चौबेले दसैँमा आफै मात्रै होइन भतिज अजय चौबेलाई पनि सँगै लैजादै हुनुहुन्थ्यो । अजय चौबेले कक्षा नौको पढाइलाई अधुरै छाडी विदेश हिँडेका रहेछन् ।

नेपालगञ्जकी २४ वर्षीय रेखा खत्रीको पनि जापान जाने टिकट दसैँको अघिल्लो दिन नै परेछ । नेपालमा अध्ययन गरेपनि रोजगार नपाएपछि विदेशिन बाध्य भएको उनले सुनाइन् । “प्लस टु सकेर चार वर्ष कृषि विषय पढे तर केही पनि काम पाइन । अहिले डेढ वर्ष जापानिज भाषा पढेर जापान हिँडेकी छु”, उनले भनिन् ।

जापान जाँदै गरेकी बहिनीलाई बिदाइ गर्न विमानस्थल पुगेका काठमाण्डू तारकेश्वरका इन्द्र रानामगरले टिकट नमिलेका कारण दसैँको मुखमा छुट्टिनु परेको दुःखेसो पोखे । “परिवारका सबै सदस्य सँगै बसेर दसैँको टीका लगाउन त मन थियो नि, परिस्थितिले त्यस्तै गर्यो, टिकट मिलाउनै सकिएन”, उनले भने ।

महानवमीको दिन गाउँ तथा सहरमा दसैँ मनाइरहँदा उनीहरु जस्ता हजारौँले शुक्रबार पैसा कमाउनका लागि मुलुक छाडे । उनीहरुलाई बिदाइ गर्र्न विमानस्थलसम्म पुग्नेहरुका अधिकांशले भिजेका आँखाले बिदाइ गरेको दृश्य अत्यासलाग्दो देखिन्थ्यो ।

Facebook Comments