Sun. Oct 13th, 2024

दक्षिण भारत रेल दुर्घटनामा १९ जना घाइते   

नयाँ दिल्ली, २०८१ असोज २६ गते शनिबार । भारतको तमिलनाडु राज्यमा यात्रुवाहक रेल र पार्क गरिएको मालवाहक रेलबीचको दुर्घटनामा कम्तीमा सात यात्रु घाइते भएका छन् ।
दुर्घटना तमिलनाडुको राजधानी चेन्नईमा शुक्रबार साँझ भएको थियो ।
रेलको एक अधिकारीले भन्नुभयो, “यात्रुवाहक रेल ७५ किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको थियो । यो मालगाडीसँग ठोक्कियो र रेलको एक कोचमा पनि आगो लागेको थियो ।”

सिन्ह्वाका अनुसार रेलवे अधिकारीहरूका अनुसार रेल मुख्य लाइन हुँदै जानुपर्ने थियो, तर लुप लाइनमा छिरेको थियो ।
रेलवेका वरिष्ठ अधिकारी आरएन सिंहले भन्नुभयो,“ दुर्घटनामा कुनै पनि व्यक्तिको ज्यान गुमेको छैन् । सात देखि आठ जना यात्रु मात्र घाइते भएका छन् । घाइते सबै जनालाई अस्पताल भर्ना गरिएको छ ।”
साथै उहाँले थप्नुभयो,“ उक्त रुटमा रेल यातायात सुचारु हुन अबको २४ घण्टा लाग्नेछ ।”
दुर्घटनामा घाइते हुनेको सङ्ख्या १९ जना पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
अधिकारीहरुका अनुसार दुर्घटनाको समयमा यात्रुवाहक रेलमा एक हजार ३६० जना सवार थिए ।
जुनमा, पश्चिम बङ्गालमा एउटा मालगाडी रेलको पछाडिको भागमा ठोक्किएर कम्तिमा १५ जनाको मृत्यु र ६० जना घाइते भएका थिए ।

Facebook Comments