Fri. Oct 11th, 2024

चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको प्रतिस्पर्धा नबनाऔँ: पूर्वअध्यक्ष रेग्मी   

काठमाण्डू, २०८१ असोज २५ गते शुक्रबार । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको प्रतिस्पर्धा नभई आआफ्ना क्षमताअनुसार सहजरुपमा मनाउने वातावरण बनाइन आवश्यक रहेको बताउनुभएको छ ।

विजयादशमी अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले राष्ट्रका समग्र गतिविधिलाई समुन्नत बनाउँदै जनसमुदायमा सुख, समृद्धि र सामाजिक सद्भाव बढाउने कार्यमा विजयादशमीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

पूर्वअध्यक्ष रेग्मीले सन्देशमा भन्नुभएको छ, “नेपालीहरूको महान चाड एवम् पर्वका रूपमा मनाइँदै आएको विजयादशमीले हाम्रा परम्परा र संस्कृतिको छुट्टै पहिचान दिन्छ । भातृत्व, सद्भाव र परिवार समाजको मिलनको पर्व पनि हो विजयादशमी ।”

उहाँले दसैँको मुखैमा भएको वर्षा, बाढीपहिरा पीडित र प्रभावित व्यक्ति दुःख र पीडामा रहेकाले राहत र पुनःनिर्माणमा सरकार र सम्पूर्ण राष्ट्र संवेदनशील हुनु जरुरी रहेको बताउनुभयो ।

पूर्वप्रधानन्यायाधीश रेग्मीले आजको युगमा जुनसुकै कुरासँग जोडिने विषय विकास र समृद्धि नै भएकाले त्यसका लागि राजनीतिक स्थिरता, दृढ इच्छाशक्ति, नविनतम दृष्टिकोण र इमानदारितापूर्ण प्रयास महत्वपूर्ण विषय हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले सन्देशमा भन्नुभएको छ, “शुभकामना आदानप्रदान गर्दै राग, द्वेषलाई पर राखेर रमणीय मौसमी प्रकृतिको उल्लासमय वातावरणमा शान्ति र समृद्धिको कामनाका साथ मनाइने पर्व हो विजयादशमी । त्यसैगरी मनाउँ त्यसैगरी रमाऔँ ।”

पूर्वअध्यक्ष रेग्मीले नवदुर्गा भवानीले सम्पूर्ण नेपालीजनमा शान्ति, सुख, समृद्धि प्रदान गरुन् भन्ने कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

Facebook Comments