Fri. Oct 11th, 2024

गाजाको विद्यालयमा भएको इजरायली आक्रमणमा २८ जनाको मृत्यु   

जेरुसेलम, २०८१ असोज २४ गते बिहीबार । गाजाको एक विद्यालयमा बिहीबार भएको हवाई आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको प्यालेस्टिनी रेड क्रिसेन्टले बताएको छ । इजरायली सेनाले भने हमासको कमान्ड केन्द्रमा आक्रमण गरेको जनाएको छ ।

“प्यालेस्टिनी रेड क्रिसेन्ट टोलहरूले इजरायली कब्जामा रहेको दीर अल–बलाहको रफिदा विद्यालयलाई सेनाले लक्षित गर्दा २८ मृतक र ५४ घाइतेलाई सहयोग गरेका छन्”, संस्थाले भनेको छ । गाजाको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले वक्तव्यमा समान मृत्यु सङ्ख्या उपलब्ध गराएको छ ।

‘रफिदा विद्यालयको रूपमा पहिले प्रयोग भएको परिसरभित्र रहेको कमान्ड–एन्ड कन्ट्रोल केन्द्रबाट’ सञ्चालन गरिरहेका प्यालेस्टिनी लडाकूहरूलाई आक्रमणले लक्षित गरेको इजरायली सेनाले एक वक्तव्यमा बताएको छ ।

सेनाले मृतकको सङ्ख्या उपलब्ध नगराए पनि कमान्ड–एन्ड–कन्ट्रोल केन्द्र ‘आइडिएफ (सेना) सैनिक र इजरायल राज्यविरुद्ध आतङ्कवादी आक्रमणहरूको योजना बनाउन र कार्यान्वयन गर्न’ प्रयोग गरिरहेको बताएको छ ।

बिहीबारको आक्रमणमा गाजामा विस्थापित प्यालेस्टिनीहरूलाई आश्रय दिइरहेका विद्यालय भवनहरूमा भएको इजरायली आक्रमणहरूको शृङ्खलामा पछिल्लो थियो । गाजामा एक वर्षभन्दा बढी समयदेखि लडाइँ जारी छ ।

एएफपीका अनुसार गाजा नागरिक सुरक्षा एजेन्सीका अनुसार सेप्टेम्बर २६ मा उत्तरी गाजाको जबालिया शिविरमा अर्को विद्यालय–बनेको आश्रयस्थलमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो । इजरायली सेना हाल जबालियामा गहन अभियानमा संलग्न छ ।

इजरायली सेनाले हमासलाई हजारौँ गाजाबासीले आश्रय लिएका विद्यालयहरू भवनहरूमा लुकेको आरोप लगाएको छ । उक्त आरोपलाई हमासले अस्वीकार गरेको छ ।

Facebook Comments