Mon. Oct 7th, 2024

युद्धविरामका लागि इजरायलमाथि ‘दबाब’ नरोकिने ह्यारिसको भनाइ     

वासिङ्टन, २०८१ असोज २१ गते सोमबार । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले इजरायल र अरब नेताहरूलाई बन्धक रिहाइ र गाजामा युद्धविरामका लागि सम्झौता गर्न अमेरिकाले आफ्नो ‘दबाब’ कम नगर्ने बताउनुभएको छ ।

वासिङ्टनले इजरायलसँग मानवीय सहायताका लागि काम गरिरहेको छ र ‘बन्धकहरूलाई रिहा गर्ने र युद्धविराम गर्ने सम्झौताको आवश्यकता छ। हामी इजरायल र अरब नेतासहित यस क्षेत्रमा दबाब दिने सन्दर्भमा रोकिने छैनौं,” ह्यारिसले सीबीएसको ‘६० मिनेट्स’ लाई दिएको अन्तवार्तामा भन्नुभयो ।

एएफपीका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘सुनिरहनुभएको छैन नि’ भनी सीबीएसका बिल ह्वाइटेकरले ह्यारिसलाई अन्तर्वार्ताका क्रममा उहाँको भनाईप्रति प्रतिप्रश्न गर्नुभएको छ ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदका उम्मेदवार ह्यारिसले अमेरिकी प्रयासका कारण इजरायलले त्यस क्षेत्रमा धेरै महत्त्वपूर्ण कामहरू गरेको तर्क गर्नुभयो।

इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणको उल्लेख गर्दै उहाँले भन्नुभया, “इजरायललाई यस प्रकारका आक्रमणबाट आफ्नो प्रतिरक्षा गर्न हामीले सक्दो प्रयास गर्नु हामीलाई अनिवार्य छ।

गाजामा अक्टोबर ७ मा हमासले एक्कासी गरेको एक बर्षको सन्दर्भमा इजरायल उच्च सतर्कतामा छ ।

इजरायलले लेबनानमा हमासको इरानसमर्थित सहयोगी हिजबुल्लाहतर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ र इरानी क्षेप्यास्त्र आक्रमणको बदला लिने प्रतिबद्धता जनाएको छ ।

गत वर्ष अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूहले इजरायलमाथि गरेको आक्रमणमा परी एक हजार २०५ जनाको मृत्यु भएको थियो ।

इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४१ हजार ८७० जनाको मृत्यु भएको छ ।

दुव पक्षले गरेका आक्रमण र कारबाहीका क्रममा अधिकांश सर्वसाधारणको मृत्यु भएको थियो ।

ह्विटेकरले नेतन्याहू अमेरिकाको ‘वास्तविक र घनिष्ठ सहयोगी’ हो वा होइन भनी सोधेको प्रश्नमा ह्यारिसले भन्नुभयो, “राम्रो प्रश्न के हो भने के अमेरिकी जनता र इजरायली जनताबीच महत्वपूर्ण गठबन्धन छ ? र उक्त प्रश्नको जवाफमा कुनै दोधार छैन । अमेरिकी र इजरायली जनताबीच अत्यन्त्यै राम्रो सम्बन्ध छ ।

Facebook Comments