Sat. Oct 5th, 2024

तिब्बतको गुडविल फाउन्डेसनद्वारा बाढीपीडितलाई राहत प्रदान   

काठमाण्डू, २०८१ असोज १८ गते शुक्रबार । चीनको तिब्बत स्वायत्त प्रदेशमा सक्रिय गुडविल फाउण्डेशन (जीडब्लुएफ)ले नेपालका बाढीपीडितलाई राहत सामग्री सहयोग गरेको छ ।

फाउन्डेसनले चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सीआरडीएफ)को सहयोगमा राहत सामग्री वितरण गरेको हो । ‘चुनौतीहरूको सामूहिक सामना गर्दै, सँगसँगै कष्टहरू पार गरौँ’ नामक राहत अभियानअन्तर्गत आज यहाँ आयोजित कार्यक्रममार्फत सीआरडीएफका कर्मचारीहरुले काठमाडौँका बाढिपीडितलाई राहत प्याकेज वितरण गरे ।

राहत प्याकेजमा दैनिक प्रयोग हुने सामग्रीहरू टुथपेस्ट, टुथब्रस, तौलिया र साबुन, पानी भण्डारणका लागि बाल्टिन र गाग्री, सेनेटरी प्याड, आपतकालीन खाद्य सामग्री (चामल, पीठो, तेल, र कम्प्रेस्ड बिस्कुट), तथा तातोपन र लामखुट्टेबाट बच्नका लागि सिरक, डसना, सिरानी र झुल समावेश छन् ।

गुडविल फाउन्डेसनले चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टसँग मिलेर ‘बाढी राहत सहयोग अभियान’ सुरु गरेको जनाएको छ । यो अभियानलाई विभिन्न चरणमा निरन्तरता दिने फाउण्डेशनको भनाइ छ ।

यसअघि जीडब्लुएफले कोरोना महामारीको समयमा सन् २०२० मा ‘महामारी नियन्त्रण’ परियोजनाअन्तर्गत नेपाललाई पाँच लाख ५० हजार सुरक्षात्मक मास्क र ७५ वटा अक्सिजन जेनेरेटरहरू प्रदान गरेको थियो ।

Facebook Comments