Fri. Oct 4th, 2024

बाढी पीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीद्वारा झण्डै दुई करोडको राहत सामग्री प्रदान

भिओके समाचार/काठमाण्डू, २०८१ असोज १८ गते शुक्रबार । नेपालका बाढी पीडितलाई चीनले झण्डै दुई करोड रुपैयाँ बराबरको सहयोगस्वरुप राहत सामग्री उपलब्ध गराएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले नेपालका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा चामल, दाल, झुल, दन्तमन्जन, ब्रुस, साबुन, स्यानेटरी प्याड, ब्ल्यान्केट, म्याट, प्रेसर कुकर, रुमाल, पानीको जार राख्ने भाँडो लगायतका सामग्री उपलब्ध गराएको हो ।

काठमाण्डूस्थित चिनियाँ राजदूताबासका उपप्रमुख काउन्सिलर वाङ सिनले नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, नेकपा एमाले विदेश विभागअन्तर्गत चीन डेस्क प्रमुख गोपाल खनाल, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सूर्य सुवेदी, नेकपा एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईलगायतका नेतालाई चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त १ करोड ९० लाख ७० हजार रुपैयाँको चेक संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो ।

वाङ सिन, काउन्सिलर, चिनियाँ राजदूताबास, काठमाण्डू

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ग्रामीण विकासका लागि चिनियाँ कोषको व्यवस्थापनमा तयार पारिएको राहत सामग्री काठमाण्डू महानगरपालिका वडा नम्बर १२ ले वितरण गर्नेछ ।

सहयोग हस्तान्तरणपछि काउन्सिलर वाङले नेपालको विपत्तिमा चीन साथमा रहेको उल्लेख गर्दै चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ रेडक्रस सोसाइटीले सहयोग उपलब्ध गराएको बताउनुभयो । उहाँले नेपाल सरकारको नेतृत्व र विभिन्न राजनीतिक दलहरुको प्रयासमा प्रकोपको पीडाबाट सकेसम्म चाँडो मुक्ति पाउने विश्वास व्यक्त गर्नुभयो ।

काठमाण्डू महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले वास्तविक पीडितलाई घरघरमा टोकन वितरण गरिएको र सोही टोकनका आधारमा राहत सामग्री वितरण गरिने जानकारी दिनुभयो ।

यसअघि चीनको रेडक्रस सोसाइटीले नेपाल रेडक्रस सोसाइटीलाई एक लाख अमेरिकी डलर बराबरको सहयोग दिएको थियो । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले केही दिनअघि गृहमन्त्री रमेश लेखकलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो ।

Facebook Comments