Sat. Oct 5th, 2024

बन्यो विमानस्थल आएनन् जहाज

कालीकोट, २०८१ असोज १८ गते शुक्रबार । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–१, कोटबाडामा निर्माण सम्पन्न भएको सुनथराली विमानस्थल औपचारिक उद्घाटन भएको सात महिना नाघिसकेको छ । करिब ३७ वर्ष लगाएर निर्माण सम्पन्न भएको सो विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन सकेको छैन ।

गत फागुन १३ गते परीक्षण उडान र १४ गते औपचारिक उद्घाटन भए पनि त्यसपछि जहाज फर्केर आएको छैन । उद्घाटनका बेला तत्कालीन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उडानलाई निरन्तरता दिने वचन दिनुभएको थियो तर उद्घाटन भएको सात महिना पुगिसक्दा पनि एक पटक पनि नियमित उडान हुन सकेको छैन ।

कोटबाडाका स्थानीय गणेश विष्टले विमानस्थल निर्माणका बेला धेरै मजदुरले ज्यान गुमाए पनि नियमित उडान हुन्छ कि भनेर आस मानेको तर यतिका समयसम्म नहुँदा खिन्न भएको बताउनुभयो । कालीकोटका बासिन्दाले आपत्कालीन रूपमा तत्कालै जिल्लाबाहिर जानुपरेमा वा बिरामी भएमा हेलिकोप्टरबाहेकको अर्को विकल्प छैन । नियमित विमानस्थल सञ्चालनमा आएमा दैनिक सुर्खेत, नेपालगन्ज जानेका लागि सहज हुने थियो ।

गोरखापत्रका अनुसार  प्रतिनिधि सभाका सदस्य महेन्द्रबहादुर शाहीले कालीकोटवासीको हवाईजहाज चढ्ने हैसियत नभएको भन्ने राज्यको बुझाइ भएकाले उद्घाटनपछि जहाज नआएको प्रतिव्रिmया दिनुभयो । उहाँले राज्यको दृष्टि पुग्न नसक्दा यस्तो अवस्था आएको पनि बताउनुभयो । तत्कालीन जिल्ला विकास समितिका उपसभापति तुलाराज विष्टले उडान कालोपत्रेका साथ तयार भएको तर उडान नहुँदा राज्यको सम्पत्तिको सदुपयोग गर्न नसकिएको बताउनुभयो । बनाउन पनि निकै समय लागेको र नियमित उडान हुन पनि त्यति नै समय लाग्ने देखिएको उहाँको भनाइ छ ।

उता नरहरिनाथ गाउँपालिकाले नियमित नभए पनि हप्ताको एक दिनसम्म भए पनि उडानका लागि पहल पनि गरेको थियो । भाडा दरलगायत केही काम गाउँपालिकाकै पहलमा भएका थिए तर अहिलेसम्म त्यसले पूर्णता पाएको छैन । गाउँपालिका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले उद्घाटनका बेला आएको नेपाल एयरलाइन्सको जहाजले तीन हजार ९५० मा रुपियाँमा उडान भर्ने सहमति भए पनि पछिल्ला दिनमा सो सहमति कार्यान्वयन नभएको बताउनुभयो ।

निजी क्षेत्रको तारा एयरलगायतका अरू हवाई कम्पनीले भाडा दर पाँच हजार छ सय रुपियाँ तोकेका छन् । त्यस कारण उडान हुन नसकेको बताइएको छ ।

Facebook Comments