Fri. Oct 4th, 2024

ताइवानमा अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु

ताइपेइ,२०८१ असोज १७ गते बिहीबार  । दक्षिणी ताइवानको पिङटुङ काउन्टीमा बिहीबार अस्पतालमा भएको आगलागीमा परी समाचार तयार पार्दासम्म आठ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, ताइवानबाट सम्प्रेषित एएफपीको समाचारमा मृतक सङ्ख्या नौ पुगेको बताइएको छ ।

पिङटुङ काउन्टी सरकारले आगलागीस्थलबाट उद्धार गरिएका छ जना पुरुष र दुई जना महिला गरी आठ जनाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ ।

सिन्ह्वाका अनुसार स्थानीय दमकल विभागले बिहान ७ः४१ बजे अन्ताइ तियान–शेङ मेमोरियल अस्पतालको एक भवनबाट बाक्लो धुवाँ निस्केको जानकारी पाएको जनाएको छ।

अस्पतालका अवैतनिक डीन सु चिङ-चुआनले यसअघि सञ्चारकर्मीसँग कुरा गर्दै अस्पतालको भवनको मेशिन कक्षमा एयर कम्प्रेसर जलाइएका कारण आगलागी भएको र अधिकांश पीडितहरू अस्पतालमा भर्ना भएका वृद्ध बिरामीहरू रहेको बताएका थिए।

घटनास्थलमा रहेका उद्धारकर्मीले स्थानीय सञ्चारमाध्यमलाई आगो नियन्त्रणमा आइसकेको बताएका छन् ।

Facebook Comments