Sun. Apr 28th, 2024

सप्तकोसीमा पुल बन्‍ने

Hand Drawn Golden Gate Bridge in Two Tone Grays, Vector Sketch

काठमाडौं, २०७७ असार २० गते शनिबार

सुनसरी जिल्लाको पकली हुँदै सप्तरी जिल्लाको कञ्चनपुर सडकअन्तर्गत सप्तकोसी नदीमा झण्डै तीन किलोमिटर लामो पुल बन्ने भएको छ।  सुनसरीको बराहक्षेत्र- ९ को प्रकाशपुरस्थित राजाबासमा २८५७ मिटर लामो पुल बन्ने भएको हो। पुलको चौडाई २०.९२३ मिटर हुनेछ। यसलाई सप्तकोशी ब्यारेजको वैकल्पिक मार्गको रुपमासमेत हेरिएको छ।

सप्तकोसी नदिमा बनेको ब्यारेजको आयु ६० वर्ष पुगिसकेको छ। ब्यारेज जीर्ण बनिरहँदा वैकल्पिक मार्गको रुपमा पकली–कन्चनपुर सडक बन्न लागेको हो। सोअन्तर्गत बनेको नयाँ पुलले अहिलेको कोशी ब्यारेजजस्तै प्रदेश १ को सुनसरी र प्रदेश २ को सप्तरीलाई जोड्नेछ। सप्तकोशी नदिबाहेक त्रियुगा नदीमा ३१५ मिटर लामो पुल बन्नेछ भने थप ३२ वटा पुल बन्न लागेको छ।
पुल र राजमार्ग निर्माणको लागि वातावरणीय प्रभाव मूल्यांकन सुरु गरिएको छ। सडक विभागले सप्तकोसीमा पुल बनाउनेदेखि अन्य निर्माणको विषयमा वातावरण प्रभाव मूल्यांकनको लागि सार्वजनिक सुचना जारी गरेको छ।

पकली–कन्चनपुर सडक कुल ४४.२१४ किलोमिटर लामो हुनेछ। सोअन्तर्गत पकलीदेखि भासीसम्म हालको २ लेन चौडा राजमार्गलाई ४ लेनमा स्तरोन्नती गरिनेछ। यस्तै भासीदेखि बलार्धसम्म ४ लेनको नयाँ सडक निर्माण गरिनेछ, जुन ३३.१ किमि लामो हुनेछ। यस्तै बलार्धदेखि कन्चनपुरसम्मको ९.६१४ किमि लामो सडकलाई चार लेनमा स्तरोन्नती गरिनेछ। सडकले सुनसरीको इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका, बराहक्षेत्र नगरपालिका छुनेछ। यस्तै उदयपुरको बेलका नगरपालिका, सप्तरीको सप्तकोसी नगरपालिका, मलेठ नगरपालिका र कन्चनरुप नगरपालिकासमेतले लाभ पाउनेछन्।

वातावरणीय प्रभाव मूल्यांकनको लागि प्रोजेक्ट प्रिपरेटोरी कन्सल्टेन्ट सासेक रोड कनेक्टीभीटी प्रोजेक्टले परामर्शदाताको रुपमा काम गरिरहेको छ। सडक निर्माणका क्रममा ६ वटा जति घर पर्ने र व्यक्तिको जग्गाहरुसमेत पर्ने भएकोले मुआब्जा दिएर अधिग्रहण गर्ने कुरा भइरहेको बराहक्षेत्र नगरपालिका-९ का वडाध्यक्ष दीपककुमार लिम्बुले जानकारी दिए। सडक तथा पुलको वातावरणीय प्रभाव मूल्यांकनबारे सूचना प्रकाशित भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन्। ‘राष्ट्रिय महत्वको सडक र पुल हाम्रो वडामा बन्दैछ, यसले वडा र समग्र नगरपालिकाकै विकास गर्नेमा हामी विश्वस्त छौं,’ वडाध्यक्ष लिम्बुले भने।

यस्तै बराहक्षेत्र नगरपालिकाकी उपमेयर कमला मगरकाअनुसार पुल बन्ने पक्का पक्की भएको बताउँदै खुसी व्यक्त गरिन्। ‘पहिले बराहक्षेत्र तराई र पहाडको ट्रान्जिट र व्यापारिक केन्द्र थियो,’ उनले भनिन्, ‘अब त झन् कोशी ब्यारेजको विकल्पमा प्रयोग हुने पुलका रुपमा अर्को महत्व पाउने भएको छ।’ अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments