Wed. Oct 2nd, 2024

तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै

महोत्तरी, २०८१ असोज १६ गते बुधबार । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ ।

पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ ।

कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश रोकिए आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ ।

मिथिलाक्षेत्रमा पितृपक्षका बेला जलाशयमा गएर तर्पण दिने चलन छ । यसअनुसार आज महोत्तरी जिल्लाका धार्मिक महत्वका नदी, सरोवर र कुण्डहरुमा एकाबिहानै तर्पण दिनेहरु भरिभराउ छन् ।

पितृपक्ष सम्पन्न गर्न आज महोत्तरीका रातु, माण्डवीगङ्गा (मरहा) र बाँकेलगायतका नदी तट र धार्मिक महत्वका सरोवरहरुमा तर्पण गर्न पुगेका छन् । जलेश्वरका वरुण, पुरन्दर र भार्गव सरोवरमा तर्पण र महालय (पार्वण, पितृपक्षमा गरिने विशेष विधिको श्राद्ध) श्राद्ध गर्नेहरुलाई सङ्कल्प गराउन पुरोहितहरुलाई भ्याइनभ्याइ छ ।

राससका अनुसार  यसैगरी धमौरास्थित ध्रुवकुण्ड , मटिहानीस्थित लक्ष्मीसागर, भङ्गाहा–५ सिद्धपुरस्थित सिद्धनाथधाम र बर्दिबास–५ स्थित टुटेश्वरधाममा तर्पण दिने र श्राद्ध गर्ने पुगेका छन् ।

मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथि (पूर्णिमा तिथिको श्राद्ध असोज कृष्ण प्रतिपदा वा औँसीका दिन गरिनेसमेत १६) का श्राद्ध गरिने भएकाले यसलाई मैथिल बोलिचालीमा ‘सोलहसराद’ र ‘पितरपक्ष’ पनि भन्ने गरिन्छ ।

औँसीका दिन यसअघि रोकिएका श्राद्ध पनि गर्नसकिने हिन्दू मैथिल परम्पराको कर्मकाण्डीय विधान रहेको बर्दिबास–२ का बासिन्दा पुरोहित ब्राह्मण महेशकुमार झा बताउनुहुन्छ ।

दसैंं, तिहार र छठजस्ता महान चाडवाडअघि पितृहरुलाई तृप्त गर्न एउटापक्ष भरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा छ । वर्षका अन्यबेला गरिने गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि अघि नान्दीमुखी श्राद्ध गरेर कार्य निर्विघ्न सम्पन्न होसभन्ने गरिने कामनाजस्तै दसैंं, तिहार र छठपर्वको मुखमा पितृहरुलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्डका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ । पितृपक्षमा श्राद्ध गर्न नसक्नेले कात्तिक १ कार्तिककृष्ण औँसीमा श्राद्ध गर्नसक्ने धर्मसिन्धुलगायत ग्रन्थमा उल्लेख छ ।

Facebook Comments