Thu. Oct 3rd, 2024

इरानले इजरायलमाथि गरेको आक्रमणको विश्वव्यापी विरोध, संयम अपनाउन आग्रह

पेरिस,२०८१ असोज १६ गते बुधबार  । तेहरानले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि विश्वका नेताहरूले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन् । तेहरानले लेबनानमा हिजबुल्लाह विरुद्ध भूमि आक्रमण गरिरहेको भन्दै आक्रमण इरान समर्थित लडाकु नेताहरूको हत्याको प्रतिक्रिया स्वरुप भएको जनाएको छ ।

दमास्कसमा इरानी वाणिज्य दूतावासमा भएको इजरायली हवाई आक्रमणको बदलामा अप्रिलमा भएको मिसाइल र ड्रोन आक्रमणपछि इरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गरेको यो दोस्रो पटक हो ।

मिसाइलको आक्रमण पछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले “मध्यपूर्वमा बढ्दो द्वन्द्व“ को निन्दा गर्नुभएको छ ।

गाजामा प्यालेस्टिनी हमास लडाकुसँगको युद्धसगैँ हिजबुल्लाहसँगको इजरायलको द्वन्द्वको आलोचना गर्दै गुटेरेसले पूर्ण रूपमा युद्धविरामको आवश्यकता रहेको बताउनुभएको छ ।

यसै गरी अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनालाई “इरानी आक्रमण विरुद्ध इजरायली रक्षामा सहयोग गरी इजरायललाई लक्षित मिसाइलहरू नष्ट गर्नसमेत आदेश दिनुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले उक्त आक्रमण “पूर्ण रूपमा अस्वीकार्य“ भएको बताउनुभएको छ ।

इजरायलले इरानी आक्रमणको बदला लिने वाचा गरेको छ । इरानमा प्रतिक्रीयात्मक आक्रमण गर्ने इजरायली सैन्य प्रवक्ता रियर एडमिरल डेनियल हागारीले बताउनुभएको छ ।

बेरुतमा हिजबुल्लाह प्रमुख हसन नस्रल्लाह र तेहरानमा हमासका नेता इस्माइल हानियाहको हत्याको प्रतिशोधमा उक्त आक्रमण भएको हमासले जनाएको छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले इरानी आक्रमणको निन्दा गर्दै मध्यपूर्वमा व्याप्त ‘हिंसाको चक्र’ अन्त्य गर्न आह्वान गर्नुभएको छ । विदेशमन्त्री जोस म्यानुएल अल्बेरेसले म्याड्रिडले द्वन्द्व पक्षलाई संयमता साथ अघि बढी तनाव नियन्त्रण गर्न आह्वान गर्नुभएको छ ।

जर्मनी विदेशमन्त्री एनालेना बारबकले इरानलाई इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणको निन्दा गर्दै हिंसा अन्त्य गर्न आग्रह गर्नुभएको छ ।

त्यसैगरी फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले इजरायल विरुद्ध इरानको आक्रमणको निन्दा गर्दै फ्रान्सले तेहरानको सामना गर्न मध्यपूर्वमा आफ्नो सैन्य स्रोतहरू “परिचालन“ गरेको बताउनुभएको छ ।

एएफपीका अनुसार बेलायती प्रधानमन्त्री कीर स्टारमरले इरानको आक्रमणको निन्दा गर्नुभएको छ । आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँगको कुराकानीमा स्टारमरले “इजरायली सुरक्षा र नागरिकहरूको सुरक्षाका लागि बेलायतको दृढ प्रतिबद्धतासमेत पनि व्यक्त गर्नुभयो ।

जापानका नयाँ प्रधानमन्त्री सिगेरु इसिबाले इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमण “अस्वीकार्य“ भएको बताउनुभएको छ । यद्धको निन्दा गर्दै स्थितिलाई शान्त पार्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

Facebook Comments