Wed. Oct 2nd, 2024

जम्मु–कश्मीर निर्वाचन : साँझ छ बजेसम्म ६५ दशमलव ४८ प्रतिशत मतदान   

नयाँदिल्ली, २०८१ असोज १५ गते मंगलबार । जम्मु र कश्मीरको केन्द्र शासित प्रदेशमा अन्तिम चरणको मतदानमा मङ्गलबार साँझ छ बजेसम्म ६५ दशमलव ४८ प्रतिशत मतदान भएको छ ।

भारतको निर्वाचन आयोगद्वारा साझा गरिएको तथ्याङ्कअनुसार उधमपुरले ७२ दशमलव ९१ प्रतिशतको उच्चतम मतदान प्रतिशत रेकर्ड गरेको छ । त्यसपछि साम्बा ७२ दशमलव ४१ प्रतिशत, कठुआ ७० दशमलव ४३ प्रतिशत, जम्मू ६६ दशमलव ७९ प्रतिशत, बान्दीपोरा ६३ दशमलव ३३ प्रतिशत र बारामुला ५५ दशमलव ७३ प्रतिशत रहेका छन् ।

भारतीय संविधानको धारा ३७० खारेज भएपछि जम्मू कश्मीरमा यो पहिलो निर्वाचन हो ।

यहाँ ४० निर्वाचन क्षेत्रमध्ये २४ जम्मू डिभिजनमा र बाँकी कश्मीर उपत्यकामा छन् । अन्तिम चरणमा काङ्ग्रेसका पूर्व उपमुख्यमन्त्री तारा चन्द र मुजफ्फर हुसेन बेगसहित कम्तीमा चार सय १५ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह (भाजपा), विपक्षी दलका नेता राहुल गान्धी र जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्रीहरू फारुक अब्दुल्ला, ओमर अब्दुल्ला र मेहबुबा मुफ्तीलगायत उच्च–प्रोफाइल नेताहरूले हप्तासम्म व्यापक प्रचार प्रसार गर्नुभएको थियो ।

गत सेप्टेम्बर १८ मा भएको पहिलो चरणको मतदानमा ६१ दशमलव १३ प्रतिशत मत खसेको थियो । साथै दोस्रो चरणको सेप्टेम्बर २५ मा भएको मतदानमा ५६ दशमलव ३१ प्रतिशत मतदान भएको थियो ।

संविधानको धारा ३७० खारेज भएपछि पश्चिम पाकिस्तानी शरणार्थी समुदायले पहिलो पटक विधानसभा चुनावमा मतदान गर्ने अधिकार प्रयोग गर्दैछन् ।

यी चुनावका लागि नेसनल कन्फरेन्स (एनसी) र काङ्ग्रेसले गठबन्धन बनाएका छन् भने अन्य प्रमुख दावेदारमध्ये पिपुल्स डेमोक्रेटिक पार्टी (पिडिपी) र भारतीय जनता पार्टी (भाजपा) छन् ।
मतगणना अक्टोबर ८ मा हुनेछ ।

Facebook Comments