Mon. Sep 30th, 2024

सीमा अतिक्रमण हुन नदिइने

धनगढी, २०८१ असोज १४ गते सोमबार । नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीले सीमा क्षेत्रमा दशगजा तथा सीमा अतिक्रमण हुन नदिने विषयमा सहमति जनाएका छन् । भारतको गौरीफन्टामा भएको दुवै देशका सुरक्षाकर्मीको समन्वयात्मक बैठकले सो विषयमा सहमति जनाएको हो ।

बैठकमा नेपालबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलाली र नम्बर ३५ गण हेडक्वार्टर कञ्चनपुरबाट सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेय, कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दको सहभागिता रहेको थियो ।

यस्तै, प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुराज उप्रेती, फूलबारी, बंग्राकटान, डोकेबजार बिओपी प्रमुखको सहभागिता रहेको थियो ।

यसैगरी, भारतीय सशस्त्र सीमा बल (एसएसबी) ३९ औं बटालियनका डिपुटी कमाण्डेट विजयकुमारसहित एसएसबी ए कम्पनी गौरीफन्टाका इन्सपेक्टर विसन दास र एसआई नरेश कुमारको उपस्थिति रहेको थियो ।

बैठकमा दुवै देशका सुरक्षा निकायबिच खबर आदानप्रदान गर्ने, सीमा इलाकामा संयुक्त गस्ती गर्ने, सीमास्तम्भको सुरक्षा गर्ने तथा सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने सहमति भएको छ ।

अवैध रुपमा खोटा अपचलन, अवैध हातहतियार, सामान, लागुऔषध ओसारपसार तथा मानव तस्करी नियन्त्रण गर्ने दुवै देशका अधिकारीबिच सहमति भएको सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका गुल्मपति सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले जानकारी दिनुभयो । यसैगरी, बैठकमा विदेशी घुसपैठ तथा अपराध रोकथामका विषय छलफल भएको थियो ।

यसैगरी, सीमा क्षेत्रमा नेपाली लुटिने घटना भएकाले सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले भारतबाट नेपाल भित्रिने नेपालीको आवागमनमा सहजीकरण गर्ने सहमति भएको छ । बडादसैं, तिहार र छठलगायतका चाडपर्व मनाउन ठुलो संख्यामा नेपालीहरु भारतबाट स्वदेश फर्किरहेका छन् । यस्तै, सीमाक्षेत्रमा दुवैतर्फबाट प्रत्येक दिन ८ बजेपछि भन्सार कार्यालय बन्द हुँदै आइरहेकोमा अब भारतमा भन्सार लाग्ने मालवस्तु साथमा नभएका नेपालीलाई तोकिएको समयपछि पनि आउन दिने सहमति भएको छ ।  गोरखापत्र

Facebook Comments