Mon. Sep 30th, 2024

पहिले विद्यार्थी पाउनै गाह्रो, अहिले थेग्नै धौ

घोराही, २०८१ असोज १४ गते सोमबार । केही वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका अभिभावकले निजी विद्यालयमा ऋण लिएर छोराछोरीलाई पढाउँथे । कमजोर व्यवस्थापन, गुणस्तरीय शिक्षाको अभाव र परीक्षामा राम्रो नतिजा नआउँदा अभिभावक र विद्यार्थी सामुदायिक विद्यालयप्रति आकर्षित थिएनन् । शैक्षिक तथा भौतिक हिसाबले विद्यालयको स्थिति नाजुक थियो ।

तुलसीपुरको बजारमै विद्यालय भए पनि विद्यार्थी पाउन मुस्किल पर्ने अवस्था थियो । त्यसैमा राजनीतिको उत्तिकै प्रभाव थियो । व्यवस्थापन समिति गठनदेखि शिक्षक राख्न हुने राजनीतिले विद्यालय माथि उठ्न सकेको थिए । जसका कारण विद्यालय स्थापना भएको ३७ वर्षसम्म पनि विद्यालय ओझेलमा परेको थियो । जब २०६६ सालमा विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीमा शिक्षक भागवत पौडेल आउनुभयो । त्यसपछि विद्यालयको भौतिक संरचना मात्र बदलिएको छैन, जिल्लामा नमूना विद्यालयका रुपमा स्थापित भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले गरेको भौतिक तथा शैक्षिक सुधारले सामुदायिक विद्यालयप्रतिको सोचलाई बदल्न सफल भएको छ । विद्यालयले विगत १५ वर्षमा शैक्षिक र भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार गर्दै २०८० सालमा कक्षा १२ को परीक्षाको नतिजाका आधारमा देशभरमै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा पहिचान बनाएको छ ।

२०२७ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १ देखि कक्षा १२ सम्मको पठनपाठन हुने गरेको प्रधानाध्यापक पौडेलले बताउनुभयो । नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट विद्यालयले पठनपाठन गराउँदै आएको छ । विहान, दिउँसो र साँझ गरेर तीन समयमा कक्षाहरू सञ्चालन गरिएको प्रधानाध्यापक पौडेलको भनाई छ ।

विद्यालयले गुणस्तरीय शिक्षा दिन थालेपछि अभिभावकले निजी विद्यालयबाट छोराछोरी निकालेर सामुदायिक विद्यालयमा भर्ना गराउन थालेका छन् । विद्यालयमा पछिल्लो समय विद्यार्थीको सङ्ख्या बढ्दै गएको भन्दै प्रधानाध्यापक पौडेलले भन्नुभयो, “पहिले यो विद्यालयमा विद्यार्थी भर्ना गराउन मुस्किल थियो, तर अहिले विद्यार्थीको चाप थेग्नै कठिन भएको छ । जसले गर्दा समय मिलाएर पठनपाठन गराउनुपर्ने अवस्था छ ।’’ विद्यालयले राम्रो पूर्वाधार निर्माण, शिक्षाको गुणस्तर सुधारसँगै नतिजामा सुधार ल्याएपछि विद्यार्थी र अभिभावकको आकर्षण बढेको छ । अभिभावकहरूको सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीले आफ्ना छोराछोरीलाई सोही विद्यालयमा पढाउन थालेका छन् ।

शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थीको समग्र विकासका लागि विद्यालयले विद्यार्थीको रोजाइअनुसार नेपाली र अङ्ग्रेजी माध्यमबाट पठनपाठनसँगै अतिरिक्त क्रियाकलापअन्तर्गत खेल र सङ्गीतका कक्षा सञ्चालन गरेको छ ।

सरकारले आधारभूत शिक्षा निःशुल्क व्यवस्था गरेको भए पनि विद्यालयले विद्यार्थीको चाहना अनुसार शिक्षा दिएर त्यसबापत केही शुल्क लिने गरेको प्रधानाध्यापक पौडेलले बताउनुभयो । उहाँका अनुसार हाल विद्यालयमा करिव दुई हजार आठ सय विद्यार्थी अध्ययनरत छन् भने करिब एक सय बढी शिक्षक कर्मचारी कार्यरत छन् ।

मेघा विद्यालयका रुपमा छनोट भएको विद्यालयले ११ र १२ मा विज्ञान र व्यवस्थापन विषयसँगै २०७३ सालदेखि प्राविधिकतर्फ सूचना प्रविधि, सर्वेक्षक र इलेक्ट्रिकलसम्बन्धी पठनपाठन गराउँदै आएको छ । गोरखापत्र

Facebook Comments