Fri. Sep 27th, 2024

बङ्गलादेशका पूर्व कप्तान शाकिबले मार्चपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने 

कानपूर, भारत, , २०८१ असोज १० गते बिहीबार ।  बङ्गलादेशका पूर्वकप्तान साकिब अल हसनले आगामी वर्षको मार्चसम्ममा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बताउनुभएको छ ।

शकिबसँगै पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीका दर्जनौं अन्य सदस्यमाथि प्रहरीले प्रदर्शनकारीमाथि गरेको घातक दमनमा दोषी ठहर गर्दै हत्याको आरोप लगाइएको छ ।

गत महिना विद्यार्थी नेतृत्वमा भएको आन्दोलनमा हसिनाको सरकार ढलेपछि ३७ वर्षीय शाकिब बङ्गलादेश फर्किनुभएको छैन ।

शाकिबले अर्को वर्ष पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफी आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताउनुभएको छ ।

उहाँले दक्षिण अफ्रिकाविरुद्धको दुई टेस्ट शृङ्खलाका लागि स्वदेश फर्कन चाहेको र यसबारे बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी)सँग सोधपुछ गर्नुभएको छ।

“यो मेरो इच्छा हो, मैले बिसिबी र चयनकर्तालाई यो कुरा भनेको छु,” भारतविरुद्ध कानपुरमा शुक्रबार हुने दोस्रो टेस्टअघि शाकिबले पत्रकारसँग भन्नुभयो ।

एएफपीका अनुसार  उहाँले भन्नुभयो, “उनीहरू मसँग सहमत भए, उनीहरूले सम्भव भएसम्म सबै कुरा व्यवस्थित गर्ने प्रयास गरिरहेका छन्, ताकि म मिरपुरमा ती दुई ‘टेस्ट म्याच’हरू खेल्न बङ्गलादेश फर्कन सकूँ र त्यहाँबाट नै विश्राम लिन सकूँ ।”

उहाँले भन्नुभयो, “यदि त्यसो भएन भने सायद यो मेरो अन्तिम घटना हो।”

अक्टोबर २१ देखि सुरु हुने दक्षिण अफ्रिका भ्रमण अझै अन्योलमा छ, गत महिनाको आन्दोलनपछि बङ्गलादेश पर्याप्त सुरक्षित छ कि छैन भनेर दक्षिण अफ्रिकाको पुरूषतर्फको खेल (प्रोटियाज) ले आँकलन गरिरहेका छन् ।

शाकिबले गत जुनमा भएको विश्वकपपछि टी–२० खेलका लागि खेलबाट बिदा लिने समयको अनौपचारिक घोषणा गरिसकेको छु ।

उहाँले भन्नुभयो, “मैले जुनमा भएको विश्वकपबाट आफ्नो अन्तिम खेल खेलेको थिएँ। हामीले चयनकर्ता र बोर्डसँग यस विषयमा छलफल गरेका छौं। यो मेरो लागि निर्णय लिने सही समय हो र बिसिबीले केही नयाँ खेलाडीको खोजी गर्नेछ।”

शाकिबले आगामी फेब्रुअरीमा पाकिस्तानले आयोजना गर्ने च्याम्पियन्स ट्रफीका लागि ५० ओभरको आफ्नो अन्तिम खेल खेल्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “एकदिवसीय खेलमा मैले आठ खेल खेल्न बाँकी छ र च्याम्पियन्स ट्रफी अन्तिम हुनेछ।”

शाकिब बङ्गलादेशी टोलीलाई आफ्नो समयमा अन्तर्राष्ट्रिय दावेदार बन्नको लागि उदयको प्रेरक शक्ति मानिनुहुन्छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को अलराउन्डर वरीयतामा एकैसाथ तीनवटै फम्र्याटमा शीर्ष स्थानमा रहने उहाँ एक मात्र खेलाडी हुनुहुन्छ ।

शाकिबले यसै महिनाको सुरुमा पाकिस्तानमा आफ्नो टोलीको ऐतिहासिक टेस्ट शृङ्खलामा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो र भारत जानुअघि इङ्ग्ल्यान्डको सरेको लागि काउन्टी क्रिकेट खेल्न जानुभएको थियो ।

उहाँले सन् २००६ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेयता ७० टेस्ट, २४७ एकदिवसीय र १२९ टी–२० खेल खेल्नुभएको छ ।

Facebook Comments