Sun. Sep 29th, 2024

बीआरआई छिटो कार्यान्वयन गर्नुपर्नेमा जोड

- बीआरआई अवसर र चुनौती

रमेश हतुवाली/काठमाण्डू, २०८१ असोज ९ गते बुधबार । ‘नयाँ चीन स्थापनाको ७५औँ वार्षिकोत्सव’का अवसरमा नेपाल-चीन मैत्री युवा संघ र फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टले चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटिएन) नेपाली सेवासँगको सहकार्यमा ‘बीआरआई अवसर र चुनौती’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।

आज काठमाण्डूको टोखामा आयोजना गरिएको सो अन्तरक्रियाका वक्ताहरुले चीनको महत्वकांक्षी तथा विश्वव्यापी परियोजना बीआरआई नेपाल र नेपालीको हितमा रहेकोले यसलाई अविलम्ब कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिएका थिए ।

अन्तरक्रियामा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल र चीनवीच सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक र राजनीतिक सम्बन्ध परापूर्वकालदेखि बलियो र मित्रवत सम्वन्ध भएको उल्लेख गर्दै चीनका राष्ट्रपति सि चिन फिङको नेतृत्वमा अगाडि सारिएको विश्वव्यापी परियोजना बीआरआर्ईमा नेपालले हस्ताक्षर गरिसकेको हुँदा यसको कार्यान्वयन गरि यसबाट भरपुर लाभ लिन सक्नुपर्ने बताउनुभयो ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छिमेकी चीनको विकासलाई बीआरआर्ईको माध्यमबाट नेपाल र नेपालीको सम्बृद्धिको चाहाना पुरा गर्न मद्धत पुग्ने अध्यक्ष दाहालले  विश्वास व्यक्त गर्नुभयो ।

नेपालले तय गरेका १७ वटा दिगो विकासका लक्ष्यहरू सन् २०३० सम्ममा पूरा गर्नुपर्ने आवश्यकता नेपालीहरु माझ रहेको जानकारी दिनुहुँदै अध्यक्ष दाहालले ती लक्ष्यहरु पुरा गर्न छिमेकी चीनको उच्च प्रविधि र सीपको उपयोग तथा हस्तान्तरण नेपालका लागि महत्वपूर्ण हुने बताउनुभयो ।

यसैगरी नेकपा (माओवादी केन्द्र) का महासचिव तथा पूर्वमन्त्री देवप्रसाद गुरुङले बीआरआर्ई बिकास र सम्मृद्धिको परियोजना भएको भन्दै नेपाललाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन पनि यस परियोजनाले सहयोग गर्ने भएकोले विलम्ब नगरी यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष गुरुप्रसाद बरालले बीआरआर्ईको माध्यमबाट नेपालको अन्तराष्ट्रिय पहुच अभिवृद्धि हुने भएकोले नेपालको हित अनुरुप चीनसँग सहकार्यगरी बिआरआईलाई उपयोग गर्नुपर्ने बताउनुभयो ।

पूर्वउपप्रधानमन्त्री तथा नेकपा (माले)का महासचिव सीपी मैनालीले बीआरआई सम्वन्धी धेरै दुस्प्रचार पनि भएको भन्दै त्यसलाई चिर्दै कार्यान्वन गर्न सकेमा धेरै सम्भावनाका ढोकाहरु खुल्ने बताउनुभयो । साथै नेपालको मौलिकतामा विकास गर्न सकेमा दिगो हुने भन्दै नेपालको प्राथमिकता र महत्वका आयोजनाहरु छनौट गरेर बीआरआईलाई कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष तथा पूर्वसांसद जगन्नाथ खतिवडाले नेपालको आन्तरिक गृहकार्यको अभावका कारण बीआरआई परियोजनाको कार्यान्वयन हुन नसकेको भन्दै नेपालले आफ्नो बलियो सर्तसहित यसको तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । चीनले नेपालको स्वाधिनतामाथि आँच आउने कुनै पनि काम नगरेको उल्लेख गर्दै उपाध्यक्ष खतिवडाले बीआरआर्ईलाई नेपालको हितमा उपयोग गर्न सक्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा रुसका लागि पूर्व नेपाली राजदूत, वरिष्ठ लेखक तथा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले बीआरआई परियोजनामा नेपालका सबै दलहरुको सहमति रहेको भन्दै यसको कार्यान्वयन गर्न सकेमा नेपालमा कसैले पनि नाकाबन्दी गर्न नसक्ने भन्दै बीआरआई वैकल्पिक मार्गको आधार भएको बताउनुभयो । बीआरआई परियोजना मार्फत तिव्बतमा आउने पर्यटकहरुलाई लुम्विनीसम्म ल्याउन सकेमा बढि भन्दा बढि फाईदा लिन सकिने र लुम्विनी पुग्ने पर्यटक नजिकै भारतको सारनाथ, कुशीनगर र गयामा पनि पुग्ने हुनाले बीआरआईबाट भारतले पनि धेरै फाईदा लिन सक्ने बताउनुभयो ।

संविधान सभाका सदस्य तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले नेपाल जस्तो कम विकसित राष्ट्रले पूर्वाधारको विकास र रोजगारी तथा आर्थिक बृद्धि विना आगाडि बढ्न नसक्ने भन्दै बीआरआई मुख्यत पुर्वाधारको विकास र सम्बृद्धि सँग जोडिएको परियोजना भएकोले यसको कार्यान्वयनमा जोड दिनुभयो ।

कार्यक्रममा चीनको राजधानी पैचिङबाट सिजिटिएन नेपाली सेवाका प्रमुख सुमेघाले भिडियो सन्देश पठाउदै चीनले आफुमात्रै धनी र सम्पन्न नबनी छिमेकी र अरुलाई पनि सम्पन्न र विकसित बनाउने नीति लिएको भन्दै बीआरआई अगाडि बढेसँगै चीन र नेपाल दुबै सहकार्य र साझेदारी मार्फत समृद्धिको मार्गमा अगाडि बढ्ने बताउनुभयो ।

चीन अध्ययन केन्द्रका सचिव तथा रे टेलिभिजन एचडीका अध्यक्ष प्रकाश बाबु पौडेलले नयाँ चीनको स्थापनाको ७५ औँ बार्षिक उत्सवको अवसरमा चिनियाँ जनतालाई शुभकामना व्यक्त गर्दै नेपालको भौतिक पूर्वाधार र कनेक्टीभीटीमा बीआरआईले महत्वपुर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

नेपाल-चीन मैत्री युवा संघका सचिव दीपक देवकोटाले छिमेकी देश चीनकोे बृहत परियोजनाबाट फाइदा लिन नेपालले पनि बेलैमा बुझेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नेपाल-चीन मैत्री युवा संघका अध्यक्ष विष्णु प्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न सो अन्तरक्रियालाई फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टका अध्यक्ष रमेश हतुवालीले सहजीकरण गर्नुभएको थियो ।

अन्तरक्रियामा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपालस्थित मैत्री संस्थाका पदाधिकारी तथा प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, शिक्षक, विद्यार्थी र सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments