Tue. Apr 30th, 2024

एमसीसीबारे अमेरिकाले भन्यो : स्वीकार गर्ने-नगर्ने नेपालकै रोजाइ

काठमाडौं, २०७७ असार १५ गते सोमबार

काठमाडौँस्थित अमेरिकी दूतावासले एमसीसीको अनुमोदन स्वीकार गर्ने नेपालकै रोजाइको विषय भएको जनाएको छ ।

एमसीसीबारे नेपालका राजनीतिक दल र नेताहरुबीच कडा मतभेद भइरहँदा अमेरिकी दूतावासले सोमबार विज्ञप्ति जारी यस्तो जनाएको हो । संसदबाट एमसीसी अनुमोदन नभएको बारे आफू जानकार रहेको पनि अमेरिकाले जनाएको छ । तर यस कार्यक्रमको व्यवहारिकता र निरन्तरता निश्चित गर्न नेपालमा ठोस कदम जरुरी रहेको अमेरिकाले जनाएको छ ।

नेपालमा जारी विवादलाई लक्षित गर्दैै अमेरिकाले ५० करोड डलरको अनुदान अनुमोदनमा ढिलाइ गर्नुले झण्डै २ करोड ३० लाख मानिसको रोजगारी र आर्थिक वृद्धिमा ढिलाइ गर्नु भएको जनाएको छ ।

एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषय पछिल्लो समय झन् पेचिलो बन्दै गएको छ । यसको विरोध गर्दै युवाहरु लकडाउनका बावजुद सडकमा आन्दोलित बनेका छन् । सत्तारुढ दल नेकपाभित्रै समेत एकमत भइसकेको छैन ।

यसअघिको सम्झौता अनुसार यही असार १६ गते अर्थात मंगलबारदेखि नै एमसीसीका परियोजना कार्यान्वयनमा आउनुपर्ने हो । तर संसदले एमसीसी अनुमोदन गर्न नसक्दा यसको कार्यान्वयन मिति धकेलिने निश्चितप्रायः छ भनि अन्नपूर्ण पोष्ट दैनिक अनलाईनले समाचार लेखेको छ ।

Facebook Comments