Wed. Sep 25th, 2024

झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा चार जना पक्राउ

काठमाण्डू, २०८१ असोज ८ गते मंगलबार । झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न चार जनालाई काठमाण्डूका विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार धादिङ नेत्रावती गाउँपालिका-१ घर भई हाल काठमाण्डू महानगरपालिका-१० मनमैजु बस्ने ३१ वर्षीय मदनबहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका-५ घर भई हाल काठमाण्डू सोह्रखुट्टे बस्ने ५६ वर्षीय रामेश्वर रिजाल, चीनको तिब्बतस्थित हिन्दे घर भई हाल काठमाण्डू महानगरपालिका-६ महाङ्काल बस्ने ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ घर भई हाल काठमाण्डू गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४६ वर्षीय छिरिङ् वाङ्दी शेर्पालाई पक्राउ गरिएको हो ।

राससका अनुसार  जुवासम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा पक्राउ परेका चीनको स्वशासित क्षेत्र तिब्बतका सोनाम तामाङ भन्ने सोनामको साथबाट बरामद भएको जिल्ला प्रशासन कार्यालय धादिङबाट जारी भएको नागरिकता प्रमाणपत्रका सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त नागरिकता छिरिङ ढुन्डुपले नगद रु चार लाखमा बनाइदिएको खुल्न आएपछि काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अभियुक्त छिरिङ ढुन्डुपसहित चार जनालाई पक्राउ गरेको हो ।

Facebook Comments