Fri. Dec 27th, 2024

अमेरिकी राष्ट्रपति बाइडेन र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय भेटवार्ता हुने

 फिलाडेल्फिया, २०८१ असोज ५ गते शनिबार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिने भ्रमणको क्रममा शनिबार अमेरिका आइपुग्नुभएको छ ।

अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र जापानका प्रधानमन्त्री फुमियो किशिदासहितका नेताहरू सहभागी हुने क्वाड शिखर सम्मेलनमा सहभागी हुन आफू आतुर रहेको बताउनुभएको थियो । इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति, प्रगति र समृद्धिका लागि काम गर्न समान विचारधारा भएका राष्ट्रहरूको एक प्रमुख समूहको रूपमा यो मञ्च उदाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति बाइडेनसँगको भेटले दुई देशलाई भारत–अमेरिका व्यापक वैश्विक रणनीतिक साझेदारीलाई अझ प्रगाढ बनाउन नयाँ मार्गहरूको समीक्षा र पहिचान गर्न अनुमति दिने बताउनुभएको छ ।

क्वाड शिखर सम्मेलनको ठीक अघि प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग द्विपक्षीय बैठक गर्नुहुनेछ ।

भारत र अमेरिकाले मानव प्रयासका लगभग सबै क्षेत्रहरू समेट्ने साझा लोकतान्त्रिक मूल्यहरू, विभिन्न मुद्दाहरूको सम्बोधन प्रयास र जनता–जनताबीचको जीवन्त सम्पर्कद्वारा संचालित एक व्यापक विश्वव्यापी रणनीतिक साझेदारीको आनन्द उठाइरहेका छन् ।

सन् २०१५ मा १० वर्षका लागि नवीकरण भएको भारत-अमेरिका रक्षा सहयोग बाइडेनसँगको भेटवार्ताको एउटा प्रमुख मुद्दा हो ।सन् २०१६ मा रक्षा सम्बन्धलाई मेजर डिफेन्स पार्टनरसिप (एमडीपी) नाम दिइएको सम्झौता सन् २०१८, ३० जुलाइमा भारतलाई अमेरिकी वाणिज्य विभागको रणनीतिक व्यापार प्राधिकरण इजाजतपत्र अपवादको टियर -१ मा सारिएको थियो। सन् २०२३ का लागि १९०.१ अर्ब अमेरिकी डलरको वस्तु र सेवामा समग्र द्विपक्षीय कारोबार गरेको संयुक्त राज्य अमेरिका भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार पनि हो।

छैटौँ क्वाड शिखर सम्मेलनले भारत, अस्ट्रेलिया, जापान र संयुक्त राज्य अमेरिकालाई विश्वव्यापी भलाइको लागि एक शक्तिको रूपमा स्थापित गर्ने र लचिलो खुला, स्वतन्त्र र समावेशी इन्डो-प्यासिफिकलाई समर्थन गर्ने प्रतिबद्धताका साथ उभ्याउने अपेक्षा गरिएको छ ।

यो शिखर सम्मेलन अर्को शिखर सम्मेलनको आयोजना गर्ने भारतका लागि पनि महत्वपूर्ण छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीस र जापानका प्रधानमन्त्री फुमियो किशिदासँग इन्डो–प्यासिफिक क्षेत्रमा क्षेत्रीय सुरक्षा र सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

शिखर सम्मेलनमा स्वतन्त्र, खुला र समावेशी इन्डो–प्यासिफिकका लागि नेताहरूको दृष्टिकोण, सार्वभौमिकता, क्षेत्रीय अखण्डता र विवादको शान्तिपूर्ण समाधानका सिद्धान्तहरूलाई कायम राख्ने उल्लेख गरिएका ‘क्वाड लिडर्स भिजन स्टेटमेन्ट एन्ड्योरिङ पार्टनर्स फर द इन्डो–प्यासिफिक’ का अतिरिक्त संयुक्त वक्तव्य पनि जारी गरिनेछ ।

विल्मिङटनबाट प्रधानमन्त्री न्यूयोर्क जाने कार्यक्रम छ । सेप्टेम्बर २२ मा प्रधानमन्त्री मोदीले युनियनडेलको नासाउ कोलिजियममा प्रवासी भारतीयको सामुदायिक कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।

अमेरिकामा करिब ४४ लाख भारतीय वा भारतीय मूलका अमेरिकी मानिस रहेका छन् । भारतीय मूलका अमेरिकी अमेरिकामा तेस्रो सबैभन्दा ठूलो एसियाली समूह हो ।
प्रधानमन्त्री मोदीले आर्टिफिसियल इन्टेलिजेन्स, सेमीकन्डक्टर, क्वान्टम कम्प्युटिङ र बायोटेक्नोलोजीको अत्याधुनिक क्षेत्रमा अग्रणी अमेरिकी कम्पनीका कार्यकारीहरूसँग पनि व्यावसायिक राउन्डटेबल वार्तामा पनि भाग लिनुहुनेछ ।

प्रधानमन्त्री मोदी सेप्टेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घमा हुने ‘सुन्दर भविष्यका लागि बहुपक्षीय समाधान’ नारा दिइएको ‘समिट अफ द फ्यूचर’ मा पनि सहभागी हुनुहुनेछ । सन् २०२५ मा स्थापनाको ८० औँ वर्षमा प्रवेश गरेको एसओटीएफ संयुक्त राष्ट्रसङ्घको इतिहासमा एउटा महत्वपूर्ण कोसेढुङ्गा हो । एएफपी

Facebook Comments