Mon. Sep 23rd, 2024

आम निर्वाचनपछि जोर्डनका प्रधानमन्त्रीद्वारा राजीनामा   

अम्मान, २०८१ भदौ ३० गते आइतबार । गाजा युद्धलाई लिएर निराशा बढेपछि संसदीय निर्वाचनपछि जोर्डनका प्रधानमन्त्री बिशेर खसावनेहले आइतबार राजा अब्दुल्लाह द्वितीयसमक्ष राजीनामा दिनुभएको छ ।

मुलुकको संविधानअन्तर्गत सामान्यतया संसदीय निर्वाचनपछि सरकारले राजीनामा दिन्छ । प्रधानमन्त्रीको नियुक्ति सीमित शक्ति भएको संसद्ले नभई राजाबाट हुन्छ ।

मुलुकको प्रमुख इस्लामिक पार्टी इस्लामिक एक्सन फ्रन्ट (आइएएफ) मङ्गलबारको निर्वाचनमा शीर्ष स्थानमा रह्यो । सो पार्टीले संसद्को एक सय ३८ सिटमा ३१ सिट जितेको छ ।

आइएएफ जोर्डनमा मुस्लिम ब्रदरहुडको राजनीतिक शाखा हो र पछिल्लो परिणामले सन् १९८९ पछि इस्लामवादीहरूलाई सबैभन्दा ठूलो प्रतिनिधित्व दिएको छ ।

आर्थिक सङ्कट र गाजा पट्टीमा प्यालेस्टिनी लडाकू समूह हमासविरुद्ध इजरायलको युद्धबाट मतदाताहरू निराश भएको बेला ३२ प्रतिशतभन्दा कम मतदान भए पनि आइएएफलाई सफलता प्राप्त भएको छ ।

इजिप्टपछि शान्ति सन्धिमा हस्ताक्षर गर्ने दोस्रो मुलुक जोर्डनले सन् १९९४ मा इजरायलसँग शान्ति सन्धिमा हस्ताक्षर गरेको थियो । तर अक्टोबरमा युद्ध सुरु भएपछि नियमित विरोध प्रदर्शनले उक्त सन्धिलाई विघटन गर्न आह्वान गरेको छ ।

मुलुकको करिब आधा जनसङ्ख्या प्यालेस्टिनी मूलको छ । पचपन्न वर्षीय खसावनेहले सन् २०२० अक्टोरदेखि सरकारको नेतृत्व गर्दै आउनुभएको थियो ।

जोर्डनको संसद् दुई सदनात्मक छ । निर्वाचित संसद्बाहेक सिनेट पनि हुन्छ । सिनेटमा राजाद्वारा नियुक्त ६९ सदस्य हुन्छन् ।

जोर्डनको कूल गार्हस्थ्य उत्पादनको करिब १४ प्रतिशत हिस्सा ओगटेको पर्यटन क्षेत्रलाई गाजा युद्धले असर पुर्याएको छ ।

जोर्डन विदेशी सहयोग विशेषगरी संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय मुद्राकोषमा अत्यधिक निर्भर छ । सन् २०२४ को पहिलो त्रैमासिकमा यहाँ बेरोजगारी दर २१ प्रतिशत थियो ।  एएफपी

Facebook Comments