‘कोशी प्रदेश सरकार विस्तारमा केही समय लाग्ने’
विराटनगर, २०८१ भदौ १९ गते बुधबार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न अझ केही दिन लाग्ने बताउनुभएको छ ।
आज विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उहाँले तीज पछि मात्रै सरकार विस्तार हुने जानकारी दिनुभयो ।
उहाँले कांग्रेसलाई सरकार विस्तारको लागि गति बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुुभयो, “कांग्रेसको हिँडाइ विस्तारै भयो, गति बढाउनुहोस् ।” मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसले सरकारमा सहभागी हुने सांसदहरुको नामावली नदिएका कारण सरकार विस्तारमा केही ढिलाइ भएको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले भन्नुुभयो, “सरकार विस्तारमा जति ढिलाइ हुन्छ त्यति नै सरकारको काम कारबाहीमा असर पर्छ, जति चाँडो सरकार विस्तार हुन्छ त्यति सरकारले गति लिइ सरकार शासकीय सुधारतर्फ लाग्ने र विकासका योजनालाई तीव्र गतिमा अघि बढ्नेछ ।” रासस