Sun. Apr 28th, 2024

नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट हल गर्नुपर्छः भारतीय रक्षामन्त्री

काठमाडौं, २०७७ असार २ गते मंगलबार

भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट हल गर्ने बताउनुभएको छ ।

उत्तराखण्डमा आयोजित जनसम्वादमा सोमबार बोल्दै उनले मैत्रीपूर्ण ढङ्गबाट समाधान गर्ने बताउनुभएको हो । “नेपालसँग हाम्रो केबल सामाजिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्ध मात्र हैन आध्यात्मिक सम्बन्ध पनि छ । भारत नेपालबीच सीमाको विषयमा जुन भ्रमको स्थिति बनेको छ, एक आपसमा मिलेर बसेर बातचितको माध्यमबाट समस्याको हल गर्नेछौँ’, उहाँले भन्नुभयो । नेपालका मानिसप्रति भारतमा कहिले कटुताको भाव नरहेकोसमेत उहाँले सुनाउनुभयो ।

गोरखापत्र अनलाईनका अनुसार कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभाग नेपालको नक्सामा अद्यावधिक गरिसकेपछि पछिल्लो समय भारत सरकारमा निकै ठूलो दबाव सिर्जना भएको छ । भारत देशभित्रै नेपाल भारत सम्बधलाई लिएर दुईमतको सिर्जना भइरहेको छ । नेपालको नयाँ नक्सा भारतलाई मान्य नहुने प्रतिक्रिया केही दिन अघि विदेश मन्त्रालयका प्रवक्ताले दिनुभएको थियो ।

यतिबेला रक्षामन्त्री सिंहले त्यो टिप्पणी विपरीत लचिलो हुँदै मैत्रीपूर्ण भावमा वार्ताबाट सीमा समाधान गर्ने भनाइ सार्वजनिक गर्नुभएको हो । तर उहाँले त्यहाँ बनेको सडक अझै पनि भारतकै भूमिमा बनेको दाबी भने गर्न छाड्नु भएन । त्यो भूभाग ऐतिहासिक तथ्य र प्रमाणको आधारमा परापूर्वकालदेखि नै नेपालको रही आएको छ । उनै रक्षामन्त्री सिंहले त्यहाँको बाटोको उद्घाटन गर्नुभएपछि नेपालले आफ्नो भूमिको सहितको नक्सा अद्यावधिक गरेको हो ।

सिंहले मानसरोवर यात्रा पहिले सिक्किम हुँदै जाने गरेकामा अब धार्चुला लिपुलेख लिङ्क रोडबाट जाँदा यात्रुलाई सहज हुने बताउनुभयो । “यस सडकलाई लिएर हाम्रो छिमेकी मुलुक नेपालमा केही भ्रम पैदा भएको छ । भारत र नेपालको बीचमा जुन सम्बन्ध छ त्यो कुनै सामान्य सम्बन्ध हैन । भारत नेपालको सम्बन्ध रोटीबेटीको सम्बन्ध हो,“ उहाँले अगाडि भन्नु भएको छ ।
उहाँले नेपाल भारतको आध्यात्मिक सम्बन्धको हवाला दिर्दै पशुपतिनाथ, विश्वनाथ, सोमनाथ र अमरनाथलाई कसैले अलग गर्न नसकिने उल्लेख गर्नुभयो । यो सम्बन्ध यस लोकको नभई कुनै दोस्रो लोकको भएकाले कसैले चाहदैमा यसलाई बदल्न नसक्ने टिप्पणी उहाँको थियो ।

नेपाल हुँदै बग्ने महाकाली कलकत्ता, विन्ध्याचलसँगै सबै स्थानमा पुगेको स्मरण गर्नुभयो । उहाँले महाकालीको भक्त उत्तराखण्डको गाउँ गाउँमा भेटिने भन्दै भारत नेपालको सम्बन्ध कसरी टुट्न सक्छ ? भन्ने प्रश्न गर्नुभयो । “त्यसैले धारचुलाको अगाडि कयौँ तार लगाए पनि यो सम्बन्धलाई काट्न सकिँदैन,” उहाँले फकाउने लवजमा थप्नुभयो ।

उहाँले भारतीय सेनामा रहेको गोरखा रेजिमेन्टको प्रशंसासमेत गर्नुभयो । “यस समय म रक्षामन्त्रीको जिम्मेवारी निर्वाह गरिरहेको छु, यहाँ गोरखा रेजिमेन्ट छ, जसले समय समयमा आफ्नो सौर्य र पराक्रमको परिचय दिएको छ । त्यो गोरखा रेजिमेन्टले पनि सधैं उद्घोष गर्छ, जय महाकाली, आयो गोरखाली,” भारतीय रक्षामन्त्रीले साे क्रममा भन्नुभएको छ ।

Facebook Comments