Fri. Oct 4th, 2024

भारतले जित्यो काभा महिला भलिबलको उपाधि   

काठमाण्डू, २०८१ साउन २३ गते बुधबार । भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३-२ को सेटमा पराजित गर्यो । खेलको पाँचौ तथा निर्णायक सेट १५-५ को जित निकाल्दै भारतले उपाधि जितेको हो ।

खेलको पहिलो सेट नेपालले जित्यो । करिब ३० मिनेट चलेक उक्त सेट नेपालले २५-२३ ले आफ्नो पक्षमा पार्‍यो । निकै प्रतिस्पर्धात्मक बनेको सेट २१-२३ को स्थितिलाई सुधार्दै नेपालले २३-२३ को बराबरीमा ल्यायो । त्यसपछि नेपालले लगतार दुई अङ्क बटुल्दै पहिलो सेट जित्न सफल भयो ।

खेलको दोस्रो सेट भने नेपालले गुमायो । करिब २१ मिनेट चलेको सेटमा भारतले नेपालविरुद्ध २५-१४ को जित निकाल्यो ।

खेलको तेस्रो सेटको सुरुआत राम्रो गरेको नेपालले सुरुमा ३–० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक बनेको सेट नेपालले २५-२२ ले जित्यो । खेलको चौथो सेटमा भारतले खेलमा पुनरागमन गर्दै २५-२१ ले आफ्नो पक्षमा पार्‍यो ।

नेपालले यसअघि सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभमा फाइनलमा हार बेहोरेको थियो ।

फाइनलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, काठमाण्डू  महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डङ्गोल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति थियो । रासस

Facebook Comments