Fri. Oct 4th, 2024

नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार

काठमाण्डू, २०८१ साउन २३ गते बुधबार ।  बङ्गलादेशका राष्ट्रपतिले बुधबार नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको घोषणा गर्नुभएको छ ।

बङ्गलादेशी निम्न वर्गको उत्थानका लागि काम गर्नुभएका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उहाँलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो । राष्ट्रपति मोहम्मद शाहबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखहरू र विद्यार्थी नेतासँगको बैठकपछि यो निर्णय गरिएको हो ।

“बैठकमा प्रोफेसर डा. मुहम्मद युनुसलाई प्रमुख बनाएर अन्तरिम सरकार गठन गर्ने निर्णय भएको छ,” साहाबुद्दिनको कार्यालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपतिले जनतालाई राजनीतिक सङ्कटबाट बाहिर निस्कन सहयोग गर्न आग्रह गर्नुभएको छ । देशमा आएको यो सङ्कटलाई पार गर्न अन्तरिम सरकारको द्रूत गठन आवश्यक छ ।”

बैठकमा सहभागी ‘स्टुडेन्ट एगेन्स्ट डिस्क्रिमिनेशन’ समूहका विद्यार्थी नेता हैदर इस्लामका अनुसार युनुसले सरकारमा प्रमुख सल्लाहकारको जिम्मेवारी पाउनुहुनेछ ।

इस्लामले पत्रकारलाई बताएअनुसार साहाबुद्दिनले ‘सकेसम्म कम समयमा’ अन्तरिम सरकार गठन गर्ने कुरामा सहमति जनाउनुभएको छ ।
इस्लामले राष्ट्रपतिसँगको उक्त बैठक ‘फलदायी’ भएको बताउनुभयो ।

हाल युरोपमा रहनुभएका युनुसले मङ्गलबार आफू अन्तरिम सरकारको नेतृत्व गर्न इच्छुक रहेको बताउनुभएको थियो ।

“यदि बङ्गलादेशमा मेरो देश र साहसी जनताका लागि जिम्मेवारी आवश्यक छ भने म यो लिनेछु ।” विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान गरेपछि उहाँले एक विज्ञप्तिमार्फत ‘स्वतन्त्र निर्वाचन’ को पनि आह्वान गर्नुभएको छ । एएफपी

Facebook Comments