Mon. Sep 30th, 2024

बंगलादेशमा अन्तरिम सरकार बनाईने (भिडियो समेत)

- प्रधानमन्त्री शेख हसिनाको भारत पलायन

काठमाण्डू, २०८१ साउन २१ गते सोमबार । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिनुभएको सेनाप्रमुख वाकर-उज-जमानले जानकारी गराउनुभएको छ । 

सरकार विरोधी प्रदर्शनकारीहरूले अगस्ट ५, २०२४ मा ढाकामा प्रधानमन्त्री शेख हसिनाको दरबारमा आक्रमण गर्दा बंगलादेशको राष्ट्रिय झण्डा देखाउँछन्। तस्बिर केएम असद/एएफपी

प्रधानमन्त्री हसिनाको राजिनामाको माग गर्दै राजधानी ढाकामा विद्यार्थीहरुद्वारा गरिएको आन्दोलनमा जनताको विशाल सहभागिता बढेपछि प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिनुभएको हो । उहाँले आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर गर्दै सरकारी निवास (गणभवन) छोडेर बहिनीका साथमा भारतमा शरण लिनुभएको छ सञ्चारमाध्यमहरुले जनाएका छन् । हेलिकोप्टर चढेर भारत जानुभएकी प्रधानमन्त्री हसिना बनारसको हवाई मार्ग हुँदै नयाँ दिल्ली पुग्नु भएको हुनसक्ने बताईएको छ ।

बंगलादेशका सेना प्रमुख जनरल वाकर-उज-जमान

प्राप्त पछिल्लो समाचार अनुसार अब बंगलादेशमा सेनाको पहलमा अन्तरिम सरकार बन्ने भएको छ । कामचलाउ सरकारको नेतृत्व सेनाप्रमुख जमानले आँफै गर्नुहुने वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने बिषयमा उहाँले केही बताउनुभएको छैन । बङ्गलादेशको सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा प्रसारण गरिएको सन्देशमा बङ्गलादेशका सेना प्रमुख जमानले आज सोमबार हसिनाले राजीनामा दिनुभएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताउनुभएको हो । देशले धेरै क्षति व्यहोरेको, अर्थतन्त्र प्रभावित भएको र धेरै मानिस मारिएका हुनाले अब यो हिंसा रोक्ने समय भएको सेना प्रमुखको भनाइ छ । उहाँले आफ्नो सम्बोधनपछि स्थितीमा सुधार आउने आशा पनि व्यक्त गर्नुभएको छ ।

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको छ । आन्दोलनका क्रममा हिजो आइतबार ९४ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन् ।

Facebook Comments