Tue. Oct 1st, 2024

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् गठन र कार्यविभाजन   

सुदूरपश्चिम, २०८१ साउन २१ गते सोमबार । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा मन्त्रिपरिषद् गठन र कार्यविभाजन गर्नुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख मियाँले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मन्त्री तथा राज्यमन्त्री नियुक्ति तथा कार्यविभाजन गर्नुभएको हो ।

कार्यविभाजनअनुसार बहादुरसिंह थापा आर्थिक मामिला, सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास, मेघराज खड्का सामाजिक विकास, लक्ष्मणकिशोर चौधरी उद्योग, पर्यटन, वन, तथा वातावारणमन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र वीरबहादुर थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त हुनुभएको छ । यस्तै प्रकाशबहादुर बम आर्थिक मामिला, सरस्वती खड्का सामाजिक विकास र निर्मला साउँद भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

आर्थिक मामिला मन्त्रीमा नियुक्त थापा र समाजिक विकास मन्त्रीमा नियुक्त खड्का, राज्यमन्त्रीमा नियुक्त प्रकाशबहादुर बम र सरस्वती खड्का कांग्रेसका सांसद हुनुहुन्छ ।

भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त थापा र आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त सार्की एमालेका सांसद हुनुहुन्छ । यस्तै उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त चौधरी नागरिक उन्मुक्ति पार्टीका सांसद हुनुहुन्छ । राज्यमन्त्रीमा नियुक्त निर्मला साउद एमालेकी सांसद हुनुहुन्छ ।
प्रदेश प्रमुख मियाँले धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नेपालको संविधानको धारा १७२ बमोजिम नवनियुक्त मुख्यमन्त्री र मन्त्रीलाई छुट्टाछुट्टै रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । सोही समारोहमा मुख्यमन्त्री शाहले नवनियुक्त राज्यमन्त्रीलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता शाह एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आइतबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

पछिल्लो आमनिर्वाचनपछि गठन भएको सुदूरपश्चिम प्रदेशसभाले हालसम्म चार पटक मुख्यमन्त्री फेरबदल गरिसकेको छ । रासस

Facebook Comments