Sun. Sep 22nd, 2024

दुर्लभ भ्रमणमा ब्लिङ्केनद्वारा मङ्गोलियासँगको घनिष्ठ सम्बन्धको प्रशंसा   

उलनबटार, २०८१ साउन १७ गते बिहीबार । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन एसियाको १० दिने भ्रमणको अन्त्यमा बिहीबार मङ्गोलिया प्रस्थान गर्नुभएको छ । उहाँले महाशक्तिहरू चीन र रुसबीचको भूपरिवेष्ठित मङ्गोलियासँगको बढ्दो सम्बन्धको प्रशंसा गर्नुभयो ।

दक्षिणपूर्वी एसिया र जापानसहितको उहाँको लामो भ्रमणले सहयोगीहरूलाई अमेरिकी समर्थन बढाउन र यस क्षेत्रमा चीनको प्रभावलाई रोक्न खोजेको छ । यद्यपि वासिङ्टनले बेइजिङविरुद्ध नियन्त्रणको नीति नअपनाएकामा जोड दिएको छ ।

वासिङ्टनका अनुसार गत साता लाओसको राजधानी भिएन्टाइनमा भएको बैठकमा ब्लिङ्केनले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग ‘स्पष्ट र उत्पादक’ आदानप्रदानको क्रममा यो मुद्दा उठाउनुभएको थियो ।

जापान र फिलिपिन्समा ब्लिङ्केन र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले विशेषगरी दक्षिण चीन सागरमा बेइजिङको ‘उत्तेजना’ का रूपमा वर्णन गर्दै दुवै मुलुकसँगको घनिष्ठ सैन्य र रक्षा सम्बन्धको घोषणा गर्नुभयो ।

बिहीबार उलनबटारमा ब्लिङ्केनले अमेरिकी दृष्टिकोण ‘कुनै एक मुलुकका विरुद्धमा’ नभएकोमा जोड दिनुभयो ।

“यो साझा दृष्टिकोणका लागि हो जुन हामी भविष्य कस्तो हुनुपर्छ भनेर साझा गर्छौं”, उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, “हो, कुनै पनि मुलुकका लागि आफ्नो निर्णय लिन र भविष्यका बारेमा आफ्नो छनोट गर्न त्यो साझा दृष्टिकोणको हिस्सा स्पष्टरूपमा स्वतन्त्रता हो ।”

केन्द्रीय साझेदार  

मङ्गोलिया ३४ लाख जनसङ्ख्या भएको विशाल लोकतान्त्रिक मुलुक हो । यहाँ जुनमा संसदीय निर्वाचन भएको थियो ।

अमेरिकाले ‘जनता-जनताबीच’ आदानप्रदानसहित घनिष्ठ सम्बन्ध विकसित गर्न र मङ्गोलियासँग ‘व्यापक रणनीतिक संवाद’ कायम राख्न चाहेको बताएको छ ।

अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बिहीबार मङ्गोलियाली विदेशमन्त्री बाटमुन्ख बट्टेसेसेगसँग वार्ता गर्नुभयो । उहाँले राष्ट्रपति उख्नागिन खुरेलसुख र प्रधानमन्त्री लुभ्सन्नमसरिन ओयुन-एर्डेनसँग पनि भेटवार्ता गर्नुभयो ।

“मङ्गोलिया यस क्षेत्रमा केन्द्रीय साझेदार हो”, ब्लिङ्केनले आफ्ना समकक्षीसँग भन्नुभयो, “अमेरिका र मङ्गोलिया गौरवशाली तेस्रो छिमेकी हुन्, दुवै मुलुक साझा लोकतान्त्रिक मूल्य र साझा हितद्वारा जोडिएका छन् ।”

रुससँग ऐतिहासिक र चीनसँग महत्त्वपूर्ण व्यापारिक सम्बन्ध बनाएको मङगोलियामा वासिङ्टनले आफ्नो प्रभाव बढाउने अपेक्षा गरेको छ ।  एएफपी

Facebook Comments