Thu. Sep 19th, 2024

अमेरिकी सिक्रेट सर्भिसका निर्देशकद्वारा राजीनामा   

  वासिङ्टन, २०८१ साउन ८ गते मंगलबार । अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिटलले मङ्गलबार पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले पूर्वराष्ट्रपति एवं नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या प्रयास रोक्ने आफ्नो मिसनमा एजेन्सी असफल भएको स्वीकार गर्नुभएको थियो ।

जुलाई १३ मा पेन्सिलभेनियास्थित बटलरको एउटा चुनावी र्यालीमा २० वर्षीय बन्दुकधारीले ट्रम्पलाई घाइते बनाएपछि चिटललाई पदबाट राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीको सामना गर्नुपरिरहेको थियो ।

हाउस अफ रिप्रेजेन्टेटिभका रिपब्लिकन अध्यक्ष माइक जोनसनले पत्रकारहरूसँग भन्नुभयो, “यो धेरै ढिलो भएको छ, उहाँले यो काम कम्तीमा एक साता अघि गर्नुपर्ने थियो, उहाँले रिपब्लिकन र डेमोक्रेट दुवैको आह्वानलाई ध्यान दिनुभएकामा मलाई खुशी लागेको छ ।”

चिटलले सोमबार कांग्रेस कमिटीसमक्ष ट्रम्पको हत्या प्रयास ‘दशकौँमा सिक्रेट सर्भिसको सबैभन्दा महत्त्वपूर्ण परिचालन असफलता थियो’ भन्नुभएको थियो ।

रिपब्लिकन र डेमोक्रेट दुवैले उहाँलाई राजीनामा दिन आह्वान गरेका थिए । उहाँले सक्रिय अनुसन्धानलाई उद्धृत गर्दै आक्रमणका बारेमा विशिष्ट विवरण दिन अस्वीकार गरेर दुवै दलका सांसदहरूलाई क्रोधित बनाउनुभएको थियो ।

ट्रम्पले पेन्सिलभेनियाको बटलरमा चुनावी कार्यक्रममा बोल्न सुरु गरेको केही मिनेटपछि नै २० वर्षीय बन्दुकधारी थोमस म्याथ्यु क्रुक्सले एआर-स्टाइल एसल्ट राइफलले उहाँमाथि गोली चलाएका थिए ।

नजिकैको एउटा भवनको छतबाट आठमध्ये पहिलो गोली चलाएको ३० सेकेन्डभन्दा पनि कम समयमा सिक्रेट सर्भिस स्नाइपरले क्रुक्सलाई गोली हानी मारेका थिए । बटलरबाट करिब ५० माइल टाढाको सहरमा बस्ने क्रुक्सले एक्लै काम गरेको र कुनै पनि बलियो वैचारिक वा राजनीतिक झुकावको पहिचान गर्न नसकेको अनुसन्धानकर्ताहरूले निष्कर्ष निकालेका छन् ।

गोली हानाहानमा र्यालीमा सहभागी दुई जना गम्भीर घाइते भएका छन् र पेन्सिलभेनियाको फ्रिपोर्ट निवासी ५० वर्षीय अग्निशमनकर्ता कोरी कम्पेरेटरको गोली हानी हत्या भएको थियो ।

ट्रम्पका पूर्वचिकित्सकले साताको अन्त्यमा उहाँको दाहिने कानमा दुई सेन्टिमिटर बन्दुकको गोली लागेको घाउ अहिले ठिक हुँदै गएको बताउनुभयो ।

पेप्सिकोका लागि उत्तरी अमेरिकामा सुरक्षा प्रमुख बन्न सन् २०२१ मा जानुअघि चिटलले २७ वर्षसम्म सिक्रेट सर्भिस एजेन्टका रूपमा काम गर्नुभएको थियो । उहाँलाई राष्ट्रपति बाइडेनले एजेन्सीको प्रमुखमा नियुक्त गर्नुभएको थियो । एएफपी

Facebook Comments