Sat. Sep 21st, 2024

सहकारीमार्फत आलुको कारोबार   

दमौली (तनहुँ), २०८१ साउन ५ गते शनिबार । कृषि ज्ञान केन्द्र तनहुँले आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा प्रशोधन योग्य आलु उत्पादनमा वृद्धि भएको छ । कार्यालयले चालु आर्थिक वर्षमा समुदायस्तरमा प्रशोधन योग्य आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लाका १२ सहकारीमार्फत रु एक करोड २१ लाखको आलुको कारोबार भएको छ ।

कार्यालयले आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत १२ सहकारीलाई रु एक करोड चार लाख ९५ हजार अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । उक्त कार्यक्रमका लागि रु एक करोड ४० लाख विनियोजन गरिएको थियो । सहकारीलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको छ ।

सहकारीमार्फत एक हजार रोपनी क्षेत्रफलमा आलुखेती गरिएको र त्यसबाट पाँच सय २९ मेट्रिकटन प्रशोधनयोग्य आलु उत्पादन भएको प्रमुख लामिछानेले बताउनुभयो । सो कार्यक्रममार्फत सहकारीले प्रशोधनयोग्य ९१ दशमलव ८८ मेट्रिकटन बीउ खरिद गरी कृषकलाई वितरण गरिएको थियो । त्यस्तै १७ मिनीटिलर, ४८ स्प्रेयर, ६ डिजिटल तराजु, दुई ड्याङ बनाउने मेसिन तथा ९२ क्रेट खरिद गरिएको छ । यस्तै दुई सय ३५ मिटर पक्की कुलो निर्माण, एक हजार ६ सय ८३ मिटर पाइप तथा तीनवटा पम्प खरिद गरिएको छ ।

बाह्र सहकारीमार्फत सञ्चालित उक्त कार्यक्रमबाट चार सय ६० परिवार लाभान्वित भएका प्रमुख लामिछानेले बताउनुभयो । घिरिङ गाउँपालिका-१ को उर्भरा कृषि सहकारी संस्थालाई रु सात लाख २९ हजार, व्यास नगरपालिका-६ को श्याम्घा साना सिँचाइ कृषि सहकारी संस्थालाई रु ११ लाख ४९ हजार, व्यास-७ को स्थित चउर कृषक समूहलाई रु तीन लाख २९ हजार, व्यास-९ को कुसुमे उद्यमशील कृषक समूहलाई रु चार लाख ३० हजार, भानु नगरपालिका-५ को भानु सहकारी संस्थालाई रु तीन लाख ५८ हजार, भानु-७ को थानीमाइ कृषक समूहलाई रु दुई लाख ३४ हजार, भिमाद नगरपालिका-१ को डुम्रीबेंसी कृषि उत्पादक सहकारी संस्थालाई रु पाँच लाख ५८ हजार, भानु-८ को देउराली कृषक समूहलाई रु ६ लाख २१ हजार, भानु-५ को प्रतिज्ञा कृषि सहकारी संस्थालाई रु दुई लाख ९२ हजार तथा व्यास-९ को राजापानी कृषक समूहलाई रु नौ लाख ४४ हजार अनुदान दिइएको केन्द्रले जनाएको छ । रासस

Facebook Comments