Fri. Sep 20th, 2024

रुवान्डामा कागामे राष्ट्रपतिमा पुनः निर्वाचित  

किगाली, २०८१ साउन ३ गते बिहीबार । बिहीबार प्रकाशित अन्तिम परिणामअनुसार रुवान्डाका शक्तिशाली राष्ट्रपति पल कागामे चौथो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको छ । निर्वाचन परिणामअनुसार उहाँले ९९ दशमलव १८ प्रतिशत मत हासिल गर्नुभएको छ ।

सोमबार भएको मतदानको नतिजामा उहाँले जित्नुहुनेछ भन्नेमा कुनै सन्देह थिएन । कागामेले तीन दशकसम्म वास्तविक नेता र राष्ट्रपतिका रूपमा रुवान्डामा शासन गर्नुभएको छ ।

तर पछिल्लो निर्वाचनमा ६६ वर्षीय कागामे सात वर्षअघिको निर्वाचनको भन्दा पनि बढी अन्तरले निर्वाचित हुनुभएको छ । अघिल्लो निर्वाचनमा उहाँले ९८ दशमलव ७९ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

राष्ट्रिय निर्वाचन आयोगका अनुसार डेमोक्रेटिक ग्रिन पार्टीका नेता फ्र्याङ्क अबिनेजाले सोमबार भएको मतदानमा शून्य दशमलव पाँच प्रतिशतमात्र मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार फिलिप मपेइमानालाई शून्य दशमलव ३२ प्रतिशत मत हासिल भएको छ ।

धेरै विपक्षीहरूलाई प्रतिबन्ध लगाइएपछि यस वर्ष उम्मेदवार हुन स्वीकृत यी दुई जनाले सन् २०१७ को निर्वाचनमा पनि कागामेलाई चुनौती दिनुभएको थियो ।  एएफपी

Facebook Comments