Fri. Oct 18th, 2024

शेयर बजार ७०.१८ अंकले वृद्धि

काठमाण्डू, २०८१ साउन १ गते मंगलबार । शेयर बजार वृद्धि भएर आज २६ महिनायताकै उच्च विन्दुमा पुगेको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ७०.१८ अंक बढेर २३१०.५९ विन्दुमा पुगेको छ । यो पछिल्लो २६ महिनायताकै उच्च विन्दु हो ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ८ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएकोमा आज ९ अर्ब १३ करोड ८६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । आज ६ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बरुण हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, मन्दाकिनी हाइड्रोपावर, सिन्धु विकास बैंक र सिक्लेस हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, सिंगटी हाइड्रो इनर्जी, रिडी पावर र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । आज ऋणपत्र र म्युचुअल फण्डहरुको मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २१ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १८ करोड नाघेको छ भने अपि पावरको करिब १८ करोडको शेयर किनबेच भएको छ ।

राससका अनुसार  १३ उपसमूहमध्ये आज १२ वटा उपसमूहको परिसूचक बढेको छ भने एउटा उपसमूहको परिसूचक घटेको छ । आज जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक ५.४५ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, विकास बैंक उपसमूहको परिसूचक ४.९४ प्रतिशतले वृद्धि भएको छ भने होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ ।

Facebook Comments