Thu. Sep 19th, 2024

पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध   

गोरखा, २०८१ असार २८ गते शुक्रबार । गोरखा-आँबुखैरनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत पर्ने गोरखा नगरपालिका-१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा ठूलो पहिरो खसेर पूर्ण रुपमा सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ध्रुवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

आज बिहान ३ बजेदेखि नै पहिरोले सडक अवरुद्ध भएको हो । “साना-साना पहिरोसमेत ठाउँ-ठाउँमा खसेकाले बाटो खुलाउन समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “नगरपालिकाले बिहानैदेखि उपकरण प्रयोग गरेर पहिरो हटाइरहेको छ ।”

आँबुखैरेनीतर्फबाट पनि पहिरो हटाउनका लागि सडक विभाग तनहुँबाट झिकाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । सो सडकखण्डको स्याउली बजार तथा इँटाभट्टा नजिक सडक माथिबाट पहिरो खसेकोे छन् ।

गोरखा पृथ्वी राजमार्ग हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने सम्पूर्ण सवारी साधन पूर्ण रुपमा ठप्प भएको छ ।  रासस

Facebook Comments