Sat. Sep 21st, 2024

‘भएको पैसा खर्च गर्न नसक्दा अर्थतन्त्रमा सुधार आएन’   

नवलपुर (नवलपरासी), २०८१ असार २६ गते बुधबार । देशमा भएको पैसा खर्च गर्न नसक्दा अर्थतन्त्र सुधार हुन नसकेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । नवलपरासी (बर्दघाट-सुस्तपूर्व)को गैँडाकोटस्थित विजय विकास स्रोत केन्द्रकोे ४६औँ स्थापना दिवसको अवसरमा आज आयोजित ‘सहकारी सुशासनः असल अभ्यास, चुनौती र आगामी बाटो’ विषयक सहकारी संवादमा विज्ञहरूले देशको पुँजीगत बजेट पर्याप्त खर्च नहुँदा अर्थतन्त्र सुधार हुन नसकेकामा चिन्ता व्यक्त गरेका हुन् ।

काठमाण्डू  विश्वविद्यालयका रजिष्ट्रार एवं अर्थशास्त्री प्रा. डा. अच्युत वाग्लेले पुँजीगत खर्च हुन नसक्नु देश विकासका लागि चुनौतीपूर्ण भएको बताउनुभयो । “सरकारले बजेटको करिब १८ प्रतिशत रकम विकास खर्च छुट्याउँछ त्यसको पनि बल्लबल्ल ४० प्रतिशत मात्रै खर्च हुन्छ, अर्थतन्त्रको सुधार हुननसक्नुको मुख्य कुरा यही हो”, उहाँले भन्नुभयो । नागरिकले राज्यसँग आशा गर्न छोडेकाले विदेशीने क्रम निरन्तर बढ्दैगएको भन्नुहुँदै डा वाग्लेले अब राज्यले आशा जगाउने गरी काम गर्नसक्नुपर्ने बताउनुभयो।

संस्थागत विकास एवं सुशासनविज्ञ नम्रता शर्माले साहु महाजन र ढुकुटीजस्ता प्रथामा भित्रिएको विकृतिका कारण अर्थतन्त्रमा समस्या आएको बताउनुभयो । आमनागरिकमा वित्तीय साक्षरता नपुग्दा धेरै नागरिक सहकारीमा ठगिन पुगेका पनि उहाँको भनाइ छ । सहकारीले साँच्चिकै समुदायका लागि काम गरेको छ कि छैन भनेर अध्ययन गर्नुपर्नेमा शर्माले जोड दिनुभयो ।

कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीका नेतृत्वकर्ताले सुशासनमा ध्यान नदिएकाले केही सहकारीहरू समस्याग्रस्त भएका बताउनुभयो । सहकारीमा भित्रिएको अस्वभाविक विषयलाई समयमै नियन्त्रण गर्न नसक्दा त्यसको असर देशव्यापी फैलिएको भन्नुहुँदै उहाँले सहकारीले सदस्यलाई केन्द्रमा राखेर काम गर्ने परिस्थिति सिर्जना गर्न सके समस्या नआउने धारणा राख्नुभयो ।

संवादमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंले खराब कर्जाका कारण सहकारीमा कर्जा जोखिम बढेको उल्लेख गर्नुभयो । सहकारीको जोखिम व्यवस्थापनतर्फ ध्यान दिँदै सञ्चालकले कर्जा नलिने, संस्थागत पुँजी जगेडा कोष पाँच प्रतिशतभन्दा बढी पु¥याउने र कर्जा असुलीमा ध्यान दिनसके सहकारी कहिल्यै नडुब्ने उहाँको भनाइ थियो । समस्याग्रस्त २१ वटा सहकारी संस्थाको संस्थागत पुँजी शून्य दशमलव पाँच प्रतिशत पनि नभएको हुँदा त्यस्ता सहकारीमा समस्या देखिएको उहाँले बताउनुभयो ।

सहकारी संवादको समूहगत छलफलमा विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमप्रसाद सापकोटा र महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख व्यवस्थापक फूलमाया मोक्तानले सहकारीका असल अभ्यासबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले संस्थाले गर्दै आएका क्रियाकलापबारे जानकारी गराउनुभएको थियो । रासस

Facebook Comments