Sun. Oct 6th, 2024

सप्तकोशी बाढी अपडेट : ५६ वटै ढोका खोलियो, हाइ अलर्ट जारी

धरान (सुनसरी), २०८१ असार २३ गते आईतबार ।  सप्तकोशीमा पानीको बहावले सीमा नाघेसँगै उच्च सतर्कता अपनाइएको छ । आज बिहानदेखि नै सप्तकोशीमा पानीको बहाव बढ्ने क्रम जारी छ । कोशीमा अझै पानीको बहाव बढ्ने अनुमान रहेको हुनाले सुनसरी र सप्तरी जोड्ने नेपाल भारत सीमानामा रहेको कोशी ब्यारेज अर्थात कोशी बाँधका सबै ५६ वटा ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

उहाँले कोशी ब्यारेजमा पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार क्युसेक भन्दा बढी भएपछि बाँधका सबै ढोका खोलिएको बताउनु भयो । बाँधमा पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार क्युसेक भन्दा माथि पुगिसकेपछि भारतीय पक्षसँग कुरा गरेर ५६ वटै ढोका खुला गरिएको प्रजिअ तिवारीको भनाइ छ । सो क्षेत्रको अवस्था सामान्य भए पनि कोशीमा पानी अझै बढ्नसक्ने भएकाले उच्च शतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनु भयो ।

उहाँले शनिवारदेखि तटीय भेगमा बस्ने नागरिकलाई शतर्क रहन आग्रह गरेको र प्रशासन सम्पूर्ण रुपमा तयारीमा रहेको पनि बताउनु भयो । नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केत दिन रातो बत्ती बालिएको छभने राता झण्डा फहराइएका छन् ।

सप्तकोशी जलमापन केन्द्रले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गर्नुभएको छ । रासस

Facebook Comments