Sun. Sep 29th, 2024

काठमाण्डूमा सछुवान(चीन)-नेपाल प्राविधिक सहयोग प्रवद्र्धन कार्यक्रम सम्पन्न, नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुगेको उच्च अधिकारीहरुको भनाई

काठमाण्डूमा आइतबार भएको चीनको सछुवान नेपाल प्राविधिक सहकार्य प्रवर्द्धन सम्मेलनमा सहभागी राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ लगायतका महानुभावहरु ।

भिओके समाचार/काठमाण्डू, २०८१ असार ९ गते आईतबार । काठमाण्डूमा आयोजित एक कार्यक्रमका वक्ताहरुले नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताउनु भएको छ । चीनको सछुवान प्रान्त र नेपाल प्राविधिक सहकार्य प्रवर्द्धन सम्मेलनलाई सम्बोधन गर्दै वक्ताहरुले सो विचार व्यक्त गर्नुभएको हो ।

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले पञ्चशीलको सिद्धान्तमा आधारित विदेश नीति सञ्चालन गर्दै आएका नेपाल र चीनबीचको सम्बन्ध जनस्तरमा नयाँ उचाइमा पुगेको बताउनुभएको छ ।

उहाँले द्विपक्षीय सम्बन्ध पारस्पारिक सहयोगमा आधारित सम्बन्धलाई व्यापार, लगानी, ज्ञान र सीप आदानप्रदान माध्यमबाट महत्वपूर्ण आयाम प्रदान गरेको बताउनुभयो ।

उपाध्यक्ष घिमिरेले भन्नुभयो, “चीनले नेपालका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याउदै आएको छ । चीनको आर्थिक-सामाजिक विकास निकै लोभलाग्दो र अनुकरणीय छ ।” सूचना र प्रविधिको चमात्कारिक विकासका दृष्टिले विश्व एक गाउँमा रुपान्तरण हुँदै गएको प्रसङ्ग उल्लेख गर्दै उहाँले चीनसँग नेपालको दिगो र सन्तुलित विकासका लागि स्रोत व्यवस्थापनसहित उल्लेख्य भूमिका अपेक्षा गरिएको बताउनुभयो ।

नेपाल पनि छिट्टै अति–कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा उक्लिने चरणमा रहेको अवस्थामा यस यात्रालाई सार्थक बनाउन चिनियाँ सहयोग महत्वपूर्ण र आवश्यक रहेको बताउँदै उहाँले चिनियाँ सहयोगको दायरा अझै फराकिलो हुँदै जानेमा विश्वास व्यक्त गर्नुभयो ।

चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन, सछुवान प्रान्तीय समितिका उपाध्यक्ष सीए साङ्ह्वाले चीन र नेपाल एकअर्कालाई सम्मान र विश्वास गर्ने असल मित्र, असल साझेदार र असल छिमेकी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई राष्ट्र प्रमुखको रणनीतिक निर्देशनमा सछुवान-नेपालको सम्बन्ध निरन्तर उकालो लागेको छ, आर्थिक र व्यापारिक सहयोग झन् घनिष्ट भएको छ, सांस्कृतिक आदान-प्रदान र सहयोगले सकारात्मक नतिजा हासिल गरेको छ ।”

सछुवान र नेपाल हिमाल र नदीहरूले जोडिएको ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै उपाध्यक्ष सीए साङ्ह्वाले हामी नेपालसँग विज्ञान तथा प्रविधि, ऊर्जा र अन्य क्षेत्रमा सहयोग सुदृढ गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

सछुवान र नेपालबीचको वैज्ञानिक र प्राविधिक ऊर्जा सहयोगलाई प्रवर्द्धन गर्र्ने कार्यक्रममार्फत नेपालको बजार माग र लगानीको वातावरण बुझ्न सक्षम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उपाध्यक्ष सीए साङ्ह्वाले भन्नुभयो, “विज्ञान, प्रविधिको क्षेत्रमा सछुवान–नेपाल सहयोग प्रवर्द्धन गर्न दोस्रो ‘बेल्ट एण्ड रोड’ विज्ञान तथा प्रविधि आदानप्रदान तथा सहयोग सम्मेलनले दुवै मुलुकबीच विज्ञान, प्रविधि, अर्थतन्त्र, व्यापार र मानविकीका क्षेत्रमा सहयोग प्रवर्द्धन गर्न भूमिका खेल्नेछ ।”

नेपालका लागि चीनका राजदूत छन् सोङले चीन र नेपाल रणनीतिक साझेदार र मित्रवत् छिमेकी भएकाले चीनले नेपालसँगको आफ्नो सम्बन्धलाई ठूलो महत्व दिएको बताउनुभयो । उहाँले हालैका वर्षहरूमा सिचुआन प्रान्त र नेपालबीचको वैज्ञानिक र प्राविधिक आदानप्रदान र सहयोग झनै नजिक भएकाले दुवै पक्षलाई पारस्परिक लाभकारी सहयोगलाई अझ गहिरो बनाउन राम्रो आधारशिला खडा गरेको बताउनुभयो ।

विज्ञान र प्रविधि चीन निर्माणको जग र राष्ट्रिय समृद्धिको आधार भएको बताउँदै राजदूत छन् सोङले हालैका वर्षमा चीनले विज्ञान र प्रविधिमा आत्मनिर्भर र परिष्करणको प्रयासलाई तीव्रता दिएको बताउनुभयो । चीनले अनुसन्धान तथा विकासमा गर्ने लगानी विश्वमा दोस्रो स्थानमा रहेको र अनुसन्धान र विकासमा संलग्न जनसङ्ख्याको हिसाबमा विश्वमा पहिलो स्थानमा रहेको सो अवसरमा जानकारी दिइयो ।

नवप्रवर्तन–सञ्चालित विकास रणनीतिमा निरन्तर गतिशील हुँदै जाँदा चीन नवप्रवर्तनशील देशहरूको सूचीमा प्रवेश गरेको उल्लेख गरियो । चीनको वैज्ञानिक र प्राविधिक शक्तिको सुधारले चिनियाँ जनतालाई मात्र होइन, अन्तर्राष्ट्रिय समुदायलाई पनि फाइदा पु¥याइरहेको प्रसङग उल्लेख गर्दै राजदुत छन् सोङले हाल चीनले एक सय ६० भन्दा बढी देश र क्षेत्रहरुसँग वैज्ञानिक र प्राविधिक सहयोग सम्बन्ध स्थापित गरेको जानकारी दिनुभयो ।

राजदूत छन् सोङले चीनले अन्य देशहरूसँग अझ खुला रूपमा वैज्ञानिक र प्राविधिक र नवप्रवर्तन सहयोगलाई सुदृढ गर्दै नेपाललगायतका विकासशील मुलुकसँग वैज्ञानिक र प्राविधिक विकासको लाभांश बाँड्ने काम जारी राख्ने बताउनुभयो । चीन–नेपाल वैज्ञानिक र प्राविधिक सहयोगले लोकप्रिय रहेको जनाउँदै उहाँले विश्वव्यापी विकास पहलहरू कार्यान्वयन गर्न र मानव जातिको साझा भविष्यको साथ साझा समुदाय निर्माण गर्न दुवै पक्षको संयुक्त प्रयासको ज्वलन्त प्रतीक स्पष्ट गर्नुभयो ।

राजदूत छन् सोङले दुई देशका नेताबीच भएको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, ‘बेल्ट एण्ड रोड’को उच्च गुणस्तरको संयुक्त निर्माणलाई अवसरका रूपमा लिन, सहयोगका बिन्दुहरू विस्तार गर्न र सहयोगका लागि नयाँ गतिको विकास गर्न नेपाली जनताको हितमा चीन नेपालसँग काम गर्न इच्छुक रहेको स्पष्ट पार्नुभयो ।

चीनका लागि नेपालका पूर्वराजदूत लिलामणि पौड्यालले विज्ञान र प्रविधिले कुनै पनि समाज र कुनै पनि देशको समृद्धि र विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने हुँदा नेपाल पनि त्यसबाट अपवाद हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कृषि, सौर्य ऊर्जा, अटोमोबाइल, डाटा विज्ञान, उत्पादन मेसिन र उपकरणलगायत नयाँ ऊर्जा चीनले कुशल प्रविधिको विकासमा चमत्कार गरेको छ भने यता नेपाल नवीकरणीय ऊर्जा, उच्च मूल्यका कृषि बाली, औषधीय जडीबुटी, तथ्याङ्क विज्ञान लगायतका कृतिम विकास गर्ने अपार सम्भावना छ ।”

त्यसअवसरमा चिनियाँ प्रतिनिधिमण्डलमा सहभागी विज्ञान तथा प्रविधि, प्रविधि अनुसन्धान, कृषि सूचना तथा ग्रामिण अर्थतन्त्र, अन्तर्राष्ट्रिय सहयोग आदान प्रदानका क्षेत्रमा कार्यरत विषय विज्ञले आआफ्ना क्षेत्रबाट नेपालमा हुन सक्ने सहयोग र लगानीको सम्भावनाबारे चर्चा गर्नुभएको थियो ।

Facebook Comments