Sat. Sep 21st, 2024

प्रतिनिधिसभा बैठक : सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न सांसदको सुझाव   

काठमाण्डू,२०८१ जेठ २४ गते बिहीबार । सांसद मानवीर राईले सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न माग गर्नुभएको छ । उहाँले भन्नुभयो, “संसारका पर्यटक सगरमाथा घुम्न आउँछन् । तर एकमात्र लुक्ला विमानस्थल चाप थेग्न नसक्ने अवस्थामा पुगेको छ । विमानस्थल विस्तार गर्न गतवर्षको बजेटले ध्यान दिन सकेन । सगरमाथा क्षेत्रको विकासका लागि थप काम गर्नुपर्छ ।”

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले दूधकोशी नदीबाट थप विद्युत उत्पादन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रुपा सो.शी चौधरीले संसदबाट कानुन निर्माण प्रक्रियामा लक्ष्य प्राप्ति हुन नसकेको बताउँदै यसमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सांसद निशा डाँगीले सीमित बजेटको आकार भए पनि असिमित योजना घोषणा गरिरहेको सन्दर्भमा स्रोतको सुनिश्चितता नगरी ठूला योजना घोषणा नगर्न सुझाव दिनुभयो । सांसद अनिशा नेपालीले स्थानीय सडक राष्ट्रिय राजमार्गसँग जोड्ने भनेर पटक-पटक बजेट छुट्याइने गरेको तर कार्यान्वयन ढिलाइ हुने गरेको उल्लेख गर्नुभयो । रासस

Facebook Comments