Fri. Sep 20th, 2024

प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योगमा सहयोग : मुख्यमन्त्री कार्की   

मोरङ, २०८१ जेठ १३ गते आईतबार ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योग क्षेत्रमा सहयोग उपलव्ध गराउँदै आएको बताउनुभएको छ । सूर्योदय मिल्स एण्ड बेभरेज उद्योग प्रालि विराटनगर-१४ द्वारा घ्यू जापान निर्यात हुने कार्यको आज शुभारम्भ गर्नुहुँदै उहाँले कृषिको उत्पादन र उपादकत्व बढाउन आयातलाई प्रतिस्थापन रोजगारी वृद्धिमा सहयोग पु-याउने काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले कोशी प्रदेशबाट वार्षिक ५० टन घ्यु जापान निर्यात हुने सम्झौता हुनु गौरवको कुरा भएको र गुणस्तरमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा मिल्क एण्ड बेभरेजलाई स्वदेशको बजार खपत वृद्धि तथा विदेशमा निर्यात गर्न उत्पादन लागत घटाउन सहयोग पु-याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशको परिचयको रुपमा रहेको घ्यु, चिया, मह, चिउरा उत्पादन र ब्राण्डिङ गरी निर्यात प्रवद्र्धन गरेमा रोजगारी वृद्धि र गरिबी निवारण गर्न सकिने बताउनुभयो । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहालले प्रदेशमा दूध उत्पादन वृद्धि भई तराईमा धुलो दूध, पहाडी क्षेत्रमा छुर्पी उत्पादन हुने गरेकाले सरकाले घ्यू, धुलो दूध उत्पादनमा अनुदान उपलव्ध गराएको जानकारी दिनुभयो ।

नेपाल डेरी एशोसिएशनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले उत्पादन लागत वृद्धिले डेरी उत्पादन निर्यातमा समस्या आएको जानकारी दिनुभयो । मुलुकमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुनका साथै ३१ लाख बजारमा बिक्रीका लागि जाने गरेको उहाँको भनाइ छ । दैनिक रु छ करोड रकम ग्रामीण क्षेत्रका किसानले प्राप्त गर्ने र ४० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको उहाँले जानकारी दिनुभयो । उद्योगका सञ्चालक मनोज यादवले जापानको पद्क कर्पोरेशन लिमिटेडलाई यस पटक एक हजार दुई केजी घ्यू, तीन हजार केजी चिउरा, एक हजार दुई सय केजी मह, तीन हजार केजी चियापत्ती गरी १० टन निर्यात गर्न लागेको जानकारी दिनुभयो । आगामी प्रत्येक महिना पाँच टन घ्यू पठाउने उहाँले बताउनुभयो ।

विराटनगर १४ मा स्थापित उक्त डेरीले दैनिक धुलो दूध ३० हजार केजी, घ्यू दुई हजार केजी र दूध, दही, बटर उत्पादन गर्दै आएको छ । कोशी प्रदेश सरकारले प्रदेशमा धुलो दुध उत्पादनका लागि दुग्ध विकास आयोजना विराटनगरलाई रु पाँच करोड, सगरमाथा सहयोग दूध उत्पादन केन्द तरहरा सुनसरीलाई रु २० करोड र सूर्योदयलाई रु दुई करोड सहयोग उपलव्ध गराएको छ । रासस

Facebook Comments