Sun. Sep 29th, 2024

धरानमा उभौली साकेला मनाइँदै   

धरान (सुनसरी), २०८१ जेठ ९ गते बुधबार ।  किराँत समुदायको महान् पर्व साकेला उभौली भोलि बिहीबारदेखि सुरु हुने भएको छ । आज किराँत राई यायोक्खा सुनसरी जिल्ला समितिले यायोक्खा भवनमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिनदेखि किराँत राई समुदायले मनाउने उभौली पर्व धरान सुनसरीको सबै स्थानमा भूमेस्थानमा पूजा आराधना गरी मनाउँदै आएका छन् ।

किरात समुदायले अन्नबाली लगाउने र चराचुरुङ्गी तथा जनावर बेंसीदेखि लेकतिर लाग्ने समयका साथै अन्नबाली सप्रियोस, रोगव्याधि नलागोस्, प्राकृतिक विपत्ति नपरोस् भन्ने कामनाका साथ साकेला उभौली पर्व मनाउने गरेको वरिष्ठ पत्रकार हर्ष सुब्बाको भनाइ छ ।

विगतमा झैँ यसवर्ष पनि सुनसरी धरान, तरहरा, इटहरी, पकली, प्रकाशपुर, बराहक्षेत्र, भरौल, रामधुनी, चक्रघट्टीलगायतका सबै ठाउँमा बृहत् साकेला नृत्यसहित उभौली मनाइने भएको छ । साकेला उभौली-२०८१ (यलम्बर संवत्-५०८४)का अवसरमा राष्ट्रिय फुटबल खेलाडी प्रीति राईलाई नगद रु एक लाख पाँच हजार र सम्मानपत्रसहित सम्मान गरिने यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।

साथै राष्ट्रिय एथलेटिक्सको कबड्डी प्रशिक्षक पार्वती राई, इन्ञ्जिनियर पारशमणि राई, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख चन्द्रकुमार राई र गोर्खा सैनिक सेवामा एमबिइ उपाधि प्राप्त सुवास राईलाई सम्मान गरिनेछ ।

कार्यक्रम यही जेठ २६ गते धरान उपमहानगरपालिका-१७ साकेला पार्कमा बृहत् साकेला नृत्यसहित समापन हुने सुनसरी किराँत राई यायोक्खाका अध्यक्ष राईले जानकारी दिनुभयो । समापनका दिन विभिन्न ठाउँबाट आउनुभएका राईहरुको साकेला सिल्ली चण्डी नाचमध्ये उत्कृष्ट नाच्ने समूहलाई पनि नगद पुरस्कारसहित सम्मान गरिने छ ।

समापन कार्यक्रममा ७० हजारभन्दा बढीको सहभागिता रहने उहाँको भनाइ छ । साकेला उभौली चाड विगतका वर्ष जस्तै भव्यताका साथ मनाउने तयारी गरिएको छ । जसमा रु आठ लाख ९६ हजार ८४ खर्च हुने अनुमान गरिएको छ ।

उभौली र उधौलीमा सरकारले राष्ट्रिय बिदासमेत दिने गरेको छ । सरकारले किरात चाड घोषणा गरेपछि उभौली र उधौलीलाई विशेष उत्सवका रुपमा मनाउने गरिएको छ ।  रासस

Facebook Comments