Sun. Sep 29th, 2024

एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता : नेपालको पहिलो जित   

काठमाण्डू,२०८१ जेठ ९ गते बुधबार । नेपालले एटीएफ यु-१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) अन्तर्गत छात्रतर्फको खेलमा जित हात पारेको छ ।चार राष्ट्र रहेको समूह ‘बी’ को लिग खेलमा नेपालले भुटानलाई आज ३-० को सोझो सेटमा पराजित गरी सान्त्वना जित हात पारेको हो । यसअघि नेपाल श्रीलङ्का र पाकिस्तानसँग पराजित भएको थियो । यो नतिजासँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो सिङ्गल्समा नेपालका विश्व विशेष डल्लाकोटीले डुडु तेन्जिङलाई ६-० र ६-३ तथा निश्चल ज्ञवालीले पेल्थोप छिरिङलाई ६-२ र ६-३ को सोझो सेटमा पराजित गरे । डबल्समा नेपालका विश्व र साहनावाज आलमको जोडीले पेल्थोप र मिफाम छिरिङको जोडीलाई ६-० र ६-२ को सेटमा हराए ।

नेपाल टेनिस सङ्घद्वारा आयोजित उक्त प्रतियोगिताको छात्रमै पाकिस्तानले श्रीलङ्का तथा भारतले बङ्गलादेशलाई समान ३-० ले पन्छाए । योसँगै छात्रमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा भारतको भेट श्रीलङ्कासँग हुनेछ भने पाकिस्तानले बङ्गलादेशको सामना गर्नेछ ।

यसैगरी छात्रामा श्रीलङ्काले नेपाललाई ३-० ले पराजित ग¥यो । सिङ्गल्समा लियङ सानुथी वोङले नेपालीकी सारा पन्तलाई ६-० र ६-० तथा श्रीलङ्काकी दाम्सिलुनी सहन्साले अनुश्री धोजुलाई ६-० र ६-१ को सोझो सेटमा पन्छाए । डबल्समा श्रीलङ्काका लियङले हेवासाम पथिराजाको जोडीले अनुश्री र आयुशा जिसीको जोडीलाई ६-४ र ६-३ को सेटमा पाखा लगाए । नेपालको यो लगातार तेस्रो हार हो । यसअघि नेपाल बङ्गलादेश र भारतसँग पराजित भएको थियो । रासस

Facebook Comments