Fri. Sep 20th, 2024

नेकपा र चिनियाँ नेताबीच तीन घन्टा भिडियो संवाद : कोरोनामाथि राजनीतिकरण भएको भन्दै चीनले माग्यो समर्थन

काठमाडौं, २०७७ बैशाक १८ गते बिहीबार

अमेरिका तथा युरोपेली देशहरुले कोरोना महामारी फैलाएको आरोप लगाउँदै गरेको आलोचना मत्थर गर्न चीनले आफ्ना छिमेकसहित तीन दर्जन देशसँग सम्पर्क र संवाद तीव्र पारेको छ । चीनले नेपालमा पनि सरकार र सत्तारुढ पार्टीको स्तरमा संवाद जारी राख्दै पश्चिमा मुलुकहरुको कोरोनामाथिको राजनीतिकरणविरुद्ध ऐक्यवद्धता मागेको हो । बुधवार चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ् ताओसहतिका प्रतिनिधिमण्डल र नेकपा विदेश विभाग प्रमुख पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल सहितका प्रतिनिधिमण्डलबीच तीन घण्टा भिडियो कन्फरसेन्समा संवाद भएको छ ।

वैज्ञानिक, मेडिकल चिकित्सकसहितको प्रतिनिधिमण्डलका साथमा चिनियाँ नेता ताओले नेकपाका समकक्षी नेपालसहित डेढ दर्जन नेपाली प्रतिनिधिमण्डलसँग कोरोना महामारी र यसमाथिको राजनीतिकरणबारे छलफल गरेका छन् । राष्टपति सी जिनपिङले समकक्षी विद्यादेवी भण्डारी र विदेशमन्त्री वाङ यीले समकक्षी प्रदीप ज्ञवालीसँग टेलिफोनमा संवाद गरिसकेको पृष्ठभूमिमा पार्टीस्तरीय संवाद बुधवार भएको हो । पश्चिमा मुलुकहरुले महामारीको राजनीतिकरण गर्दै चीनमाथि दोषारोपण गरेको भन्दै चिनियाँ नेताले यसविरुद्ध विश्वव्यापी मत निर्माणको प्रयास थालेका छन् । यही क्रममा नेकपा नेता तथा चिकित्सकहरुसँग उनीहरुले छलफल गरेका हुन् ।

छलफलका पाँच एजेन्डा

पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार छलफलका पाँच एजेन्डामा कोरोना महामारीबारे विश्वव्यापी राजनीतिकरण एउटा एजेन्डा थियो । यसबाहेक नेपाल चीन सम्बन्ध, नेकपा र चिनिया पार्टीको सम्बन्ध, कोभिड १९ महामारीको अवस्था, यसविरुद्ध लड्ने साझा प्रयास तथा अनुभवको आदनप्रदान उपशीर्षकमा चिनियाँ नेता र विज्ञले प्रस्तुतीकरण गरेका थिए ।

भिडियो संबादलाई सम्बोधन गर्ने क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ् ताओले महामारीमाथि चीनलाई जोडेर पश्चिमा मुलुकले राजनीतिकरण गरेको भन्दै यसविरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिएका थिए । उनको भनाई थियो, चीनविरुद्ध कोरोना महामारीका बारेमा राजनीतिकरण भएको छ । यसविरुद्ध हामी एकै ठाउँमा उभिनुपर्छ । प्रत्युत्तरमा पूर्वप्रधानमन्त्री नेपालले कोरोना भाइरस मानवताविरोधी महामारी भएको भन्दै यसलाई राजनीतिकरण गर्नु नहुने ताओको भनाईमा समर्थन जनाएका थिए । उनको भनाई थियो, यो कुनै देश, जात, धर्म, लिंग, विचारसँग सम्बन्धित छैन । यसमा काहिँ कतैबाट राजनीतिकरण हुनु हुँदैन भन्नेमा हामी स्पष्ट छौँ । हामी राजनीतिकरण गर्ने प्रयासलाई समर्थन गर्दैनौँ ।

चीनका राष्टपति सी जिनपिंगले २५ असोजमा राजकीय भ्रमणमा नेपाल आउँदा चीनलाई फुटाउन खोज्ने तत्वहरुलाई धुलोपिठो पार्ने चेतावनी दिएका थिए । चिनियाँ नेताहरुले अहिले कोरोना महामारीका बिषयमा पश्चिमा मुलुकले लगाएको आक्षेपका विरुद्ध छिमेकीहरुको ऐक्यबद्धता खोजिरहेका छन् । नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले नयाँ पत्रिकासँग भने, चीनले विभिन्न देशहरुसँग कूटनीतिक सम्पर्क बढाइरहेको छ । राष्टपति, प्रधानमन्त्री, परराष्टमन्त्रीस्तरमा कुराकानी भइरहेको पृष्ठभूमिमा पार्टीको तहमा छलफल भएको हो । छलफलको निरन्तरताका रुपमा यसलाई बुझ्नुपर्छ ।

भिडियो कन्फरेन्सलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले कोरोनाविरुद्ध लडाईँमा चीनले सफलता पाएको भन्दै बधाई दिएका छन् । नेपाललाई कोभिड १९को नियन्त्रण र रोकथामका लागि चीनले निरन्तर सहयोग गरेकोमा उनले धन्यबाद समेत दिएका थिए । नेपालको भनाई थियो, चीनले खोप विकास गर्ने प्रयास गरिरहेको छ । हामी यसको सफलताको कामना गर्छौँ । र चीनको सफलताबाट नजिकको छिमेकीका रुपमा नेपाल लाभान्वित हुन्छ भन्नेमा विश्वस्त छौँ ।

एक साताअघि तय भएको सम्मेलन

चिनियाँ पहलमा एक साताअघि तय भए अनुसार बुधवार भिडियो कन्फरेन्समा संवाद भएको थियो । नेपालका तर्फबाट नेकपा विदेशविभाग प्रमुख एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा नेका राम कार्की, नेकपाका छवटा प्रदेशका इन्चार्ज र गण्डकीका सचिव, स्वास्थ्य मन्त्रालयका विज्ञ डा खेम कार्की, सातै प्रदेशका जनस्वास्थ्य अधिकारीसहित १८ जना सहभागी थिए । चीनका तर्फबाट कोरोना नियन्त्रण तथा रोकथामसम्बन्धी उस्चस्तरीय समितिका संयोजक प्रोफेसर झोङ नान सान, चिकित्सक, वैज्ञानिकसहितको टोली सहभागी थियो । प्रोफेसर झोङ चिनियाँ कम्युनिष्ट पार्टीका नेता ताओभन्दा पनि बरियतामा माथिल्ला व्यक्ति हुन् ।

बुधवार अपरान्ह दुई बजेदेखि शुरु भएको भिडियो सम्बाद करिब तीन घण्टा चलेको थियो । चिनियाँ प्रोफेसर झोङले पाँच बिषयमा प्रस्तुतीकरण गरेका थिए । नेपाल चीन सम्बन्ध, नेकपा र चिनिया पार्टीको सम्बन्ध, कोभिड १९ महामारीको अवस्था, महामारीबारे भएको विश्वव्यापी राजनीतिकरण, यसविरुद्ध लड्ने साझा प्रयास तथा अनुभवको आदनप्रदान उपशीर्षकमा प्रस्तुतीकरण भएको थियो । उनले वुहानमा शुरुमा कोरोना भाइरस देखापरेदेखि हुबेइ प्रान्त लडकाउन गरिएको पृष्ठभूमि, बेइजिंग हुँदै पूरै चीनले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको विस्तृत विवरण प्रस्तुत गरेका थिए । उनको भनाई थियो, चीनमा पार्टी, सरकार र जनताको समन्वयमा कोरोना महामारीविरुद्ध हामीले विजय हासिल गरेका छौँ । जनजीवन सामान्य हुँदै गएको छ । नेपालले पनि रोकथामका लागि गरेको प्रयत्न सकारात्मक छ । हामी नेपाललाई सहयोग गर्न तयार छौँ । उनीपछि मेडिकल डाक्टर, बैज्ञानिकहरुले चीनले खोप पत्ता लगाउन गरेका प्रयासबारे चर्चा गरेका थिए । चिनियाँ नेता सङ् ताओले नेपाल र चीनबीच मित्रताको सम्बन्ध प्राचिन भएको पृष्ठभूमि बाँधेर नेपाललाई कोभिड १९को रोकथाम र नियन्त्रणका लागि चीनले खुलेर सहयोग गर्ने आश्वासन दिएका छन् ।

नेकपा विदेश विभाग उपप्रमुख राम कार्कीले राजनीतिक बिषयमा छलफल नभएको तर कोरोनाविरद्धको लडाईँमा सहयोग आदनप्रदानबारे छलफल केन्द्रित भएको जानकारी दिए । बैठकको सहजीकरण उनले गरेका थिए । बैठकबारे कार्कीले नयाँ पत्रिकासँग भने, चीनले कोरोनामाथि विजय हासिल गर्दै गरेको अनुभवबाट हामी सिक्न चाहन्छौँ । अनि कोरोनापछि नेपालको स्वास्थ्य प्रणालीको पुनःसंरचनाका लागि सहयोग गर्नुस् भन्ने प्रस्ताब गरेका छौँ। उहाँहरु सकारात्मक हुनुहुन्छ ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउने सम्झौता
नेपाली सेना र फ्ल्यास फ्रेट नेपाल कार्गो कम्पनीबीच बुधबार ग्वान्जाओबाट स्वास्थ्य सामग्री आपूर्ति गर्ने सम्झौता भएको छ । चीनको साइनो फर्म इन्टरनेसनल कर्पोरेसनसँग नेपाली सेनाले किनेका स्वास्थ्य सामग्री ग्वान्जाओबाट काठमाडौंसम्म ढुवानीका लागि सम्झौता भएको हो । सम्झौताअनुसार पहिलो लटमा करिब २० टन स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज २३ वैशाखमा जाने तय भएको छ । दुई उडानमा जम्मा ४० टन सामान ल्याउने र बाँकी सामान स्थलमार्गबाट ल्याउने सम्झौता भएको छ ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार २३ वैशाखमा सामान आपूर्तिका लागि पहिलो उडान हुन लागेको हो । एक उडानमा सिट र बेसमेन्टमा समेत गरेर करिब २० टन सामान ल्याउन सकिनेछ । सेनाले मागे गरेअनुसार आवेदन दिएका ११ आपूर्तिकर्ता कम्पनीमध्ये सस्तो र चाँडो ल्याउने प्रस्तावका आधारमा फ्ल्यास फ्रेटलाई जिम्मा दिइएको सेनाले जनाएको छ । चीनबाट तीन सय ४२ टन स्वास्थ्य सामग्री खरिदका लागि सेनाले एक करोड ८४ लाख ४१ हजार सात सय ६ अमेरिकी डलर (करिब सवा दुई अर्ब रुपैयाँ) भुक्तानी दिइसकेको छ । पिपिई, एन-९५ मास्क, पिसिआर टेस्टिङ किट्स, मेसिन, कीटाणुनाशक स्प्रेलगायत सामग्री जहाजबाट ल्याउने तयारी छ । नयाँ पत्रिका दैनिक अनलाईनबाट

Facebook Comments