भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु
टक्सार (भोजपुर), २०८१ वैशाख १७ गते सोमबार । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालंखाबाटबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
आज बिहान १ ज २६१७ नम्बरको बोलेरो आमचोक गाउँपालिका–८ पारकुवा, हैखराङस्थित दूधकोसी नदी किनारमा दुर्घटनाहुँदा एक जनाको घटनास्थलमै र अर्का एकको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक राईका अनुसार आमचोक गाउँपालिका-१० निवासी २७ वर्षीया रुना राईको घटनास्थलमा र शान्ति राईको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बलेरोमा चौध यात्रु रहेका थिए भने गम्भीर घाइतेलाई थप उपचारका लागि धरान पठाइएको छ ।
घाइते हुनेमा धरान ५ सुनसरी बस्ने वर्ष ७ की आशिका राई, धरान ५ सुनसरी बस्ने वर्ष ५० को खानुहाङ राई, आमचोक गाउँपालिका १० बस्ने सफल राई, सोहि ठेगानामा बस्ने वर्ष ६० का वी बहादुर राई, वर्ष ३०का सुमन राई, वर्ष ६ को सृष्टि राई, वर्ष ३१ की सरस्वती राई, ६ महिने बालक अनरप राई, वर्ष ३६ का प्रकाश राई (चालक), धरान १३ सुनसरी बस्ने वर्ष १३ का साईमन राई, वर्ष १३ का लिजा राई, धरान ५ बस्ने वर्ष ३५ को सृजना राई रहनु भएको छ । रासस