Mon. Apr 29th, 2024

यूएईका नागरिकसरह नेपाली श्रमिकले उपचार पाउने

काठमाडौं, २०७६ चैत २५ गते मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (यूएई)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग यूएईमा कार्यरत नेपाली श्रमिकको  सुरक्षा र उपचारबारे चासो व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले विदेशमा कार्यरत नेपालीको अवस्थाबारे सम्बन्धित देशका सरकार प्रमुख वा प्रतिनिधिसँग संवाद गर्ने क्रममा युवराज शेख मोहम्मदसँग टेलिफोनमा कुरा गनुृभएको हो । युवराज शेखले नेपाली श्रमिकले यूएईका नागरिक सरह उपचार पाउने बताएको प्रधानमन्त्रीले ट्वीटमार्फत जानकारी दिनुभएको छ ।

सोमबार साँझ भएको टेलिफोन कुराकानीमा प्रधानमन्त्री ओलीको चासोमा युवराज शेखले नेपालीहरू इमान्दार र परिश्रमी भएको बताउँदै उनीहरूले यूएईको आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको थियो ।

अहिलेसम्म यूएईमा ११ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको छ । दुई जना उपचारपछि निको भएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले बहराइनका सरकार प्रमुखसँग पनि टेलिफोनमार्फत कुराकानी गर्दै त्यहाँ कार्यरत नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिनुभएको थियो। उज्यालो अनलाईनबाट

Facebook Comments