नेपालसँग आर्थिक समृद्धिको लक्ष्य छ : मन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ एजुकेशन विभागद्वारा शुक्रबार आयोजित ‘प्राविधिक, व्यावसायिक शिक्षा तथा तालिम’ (टिभिइटी) विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै । तस्बिर : राजकुमार पराजुली, रासस
काभ्रेपलाञ्चोक, २०८० भदौ २९ गते शुक्रबार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नेपालसँग आर्थिक समृद्धिको लक्ष्य रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ एजुकेशन विभागद्वारा आयोजित ‘प्राविधिक, व्यवसायिक शिक्षा तथा तालिम’ (टिभिइटी) विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उहाँले नेपालले आर्थिक समृद्धिसँगै पूँजी तथा मानव संशोधन व्यवस्थित गर्ने लक्ष्य लिएको बताउनुभएको हो ।
“लक्ष्य प्राप्त गर्न टिभिइटीका जानकार, शैक्षिक वर्ग, विकासका साझेदार तथा निजी क्षेत्रको सहयोग र समन्वयमा राम्रो काम गर्न अघि बढिरहेका छौँ”, मन्त्री राईले भन्नुभयो ।
उहाँले नेपालका तीनै तहका सरकारले टिभिइटीका लागि सुधारात्मक कानून बनाइरहेको बताउनुभयो । तीन तहका सरकारमध्ये स्थानीय सरकार सबैभन्दा बढी शक्तिशाली र नेतृत्वदायी रहेको उहाँको भनाइ थियो । मन्त्री राईले टिभिइटीका सन्दर्भमा नेपाल परिपक्व नभइसकेको उल्लेख गर्दै विकासका अवसरको उपलब्धतासँगै रोजगारी अवसरको योजना परिचालन गरिरहेको बताउनुभयो ।
“यी अवसर प्राप्तिका लागि तीनै तहका सरकारको समन्वय अति आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँले टिभिइटीका क्षेत्रमा विश्वमा दीगो विकासको उद्देश्यअनुरूप काम भइरहेको आफूले पाएको बताउनुभयो ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले युवा रोजगारीका क्षेत्रमा विद्यमान चुनौती र अवसरबारे प्रकाश पार्न तथा टिभिइटीका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरम प्रदान गर्नेलगायतका विशिष्ट उद्देश्यका साथ सम्मलेन आयोजना गरिएको बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा रमेशचन्द्र पोखरेलले टिभिइटी भएका मुलुकमा आर्थिक उपार्जनमा अग्रणी हुँदै गएको बताउँदै नेपालका सरोकारवालललाई यसबारे बुझिदिन आग्रह गर्नुभयो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का उपाध्यक्ष खगेन्द्र अधिकारीले विद्यार्थीमा पछिल्लो वर्षमा टिभिइटीमा चाख बढेको पाइए पनि शैक्षिक संस्थामा यसका योजना प्रस्ट्याउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को)का नेपाल प्रमुख मिचेल क्रोफ्टले शैक्षिक क्षेत्रमा प्राविधिक शिक्षा अति महत्त्वपूर्ण हुने उल्लेख गर्दै नेपालको सम्पदा एवं प्राकृतिक सौन्दर्यलाई भरपुर उपयोग गर्न सुझाव दिनुभयो ।
केयू स्कुल अफ एजुकेशनका डीन प्रा डा बालचन्द्र लुइँटेलले सम्मेलनले अन्य देशमा टिभिइटीमा भइरहेको गतिविध नेपालका लागि स्मरणयोग्य रहने बताउनुभयो । सम्मेलनमा टिभिइटीको प्रणाली र सम्बन्ध, अनुसन्धान र ज्ञानको आधार, वर्तमान समाज र भविष्यबारे १६ देशका ८६ कार्यपत्र प्रस्तुत गर्ने योजना बनाइएको छ ।
यस्तै सम्मेलनमा विभिन्न देशका टिभिइटीका अभ्यासकर्ता, नीति-निर्माता, अनुसन्धानकर्ता, रोजगारदाता (उद्योग), युवा कर्मचारीबीच युवा रोजगारीको चुनौती, बाधा र अवसरबारे बृहत्तर छलफल हुने जनाइएको छ । केयूमा यसअघि सन् २०२० को सेप्टेम्बारमा यस्तै सम्मेलनको आयोजना गरिएको थियो । रासस

