Fri. Sep 20th, 2024

प्रधानमन्त्रीले भन्नुभयो- मेरो स्वास्थ्यबारे ढुक्क रहनुहोस्

काठमाडौं, २०७६ फागुण १९ गते सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू आजैबाट उपचारको लागि अस्पताल जान लागेको बताउँदै स्वास्थ्य बारे ढुक्क रहन सबैलाई आग्रह गर्नु भएको छ ।
सोमबार साँझ जारी गरिएको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले आफ्नो अनुस्पस्थितमा आइपर्ने काम गर्न आवश्यक संयन्त्रको व्यबस्था गरिएको उल्लेख गर्दै आफू समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न केही दिनको अस्पताल बसाइ र आराम पछि पुनः थप उर्जाका साथ काममा फर्कने बताउनुभयो ।
सन्देशमा प्रधानमन्त्रीले भन्नु भएको छ, “मेरो अस्पतालको बसाइमा सिङ्गो पार्टी सरकार र संसद र लाखौं कार्यकर्ताहरू क्रियाशील भएर काम गर्ने मा म विश्वस्थ छु । मेरा शीघ्र स्वास्थ्य लाभको कामना गर्नु हुने सबै मित्रहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”
विश्वलाई नै पिरोलेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या लगायत वा अन्य भइपरी आउने समस्यामा निर्णय लिनका लागि संयन्त्र वा व्यबस्था मिलाएकोले सबैलाई ढुक्क रहन आग्रह गर्नु भएको छ ।

सन्देशकाे पूर्णपाठ

मेरो जीवन कुनै न कुनै रुपको संघर्षमा वित्दैआएको छ । कहिले निरंकुशताबिरुद्ध लोकतन्त्रका लागि संघर्ष । कहिले राष्ट्रिय हित तथा स्वाभिमानका लागि संघर्ष त कहिले देशमा स्थायित्व नचाहने र हुन नदिनेसँगको संघर्ष । मुलुकमा व्याप्त यस प्रकारका विविध समस्याहरुसँग निरन्तर जुध्ने क्रममा शरिरभित्र सिर्जित रोगसँग लड्न म वाध्य हुन पुगेको यहाँहरु सबैलाई जानकारी नै छ ।

यसै सन्दर्भमा आजभन्दा झण्डै १२ वर्ष अघि मेरा दुवै मिर्गौलाले काम गर्न छाडेपछि ६४ साउनमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएको थिएँ । त्यसबेला नेपालमा मिर्गौला प्रत्यारोपण सेवा थिएन । पर्सी फागुन २१ गते बुधबार फेरि मैले मिर्गौला प्रत्यारोपण गराउँदै छु । त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुँदैछु ।

विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मिर्गौला प्रत्यारोपण अहिले पहिलेजस्तो जटिल मानिदैन । यसपटकको मिर्गौला प्रत्यारोपण तुलनात्मक रुपमा सजिलो हुने मैले विश्वास लिएको छु । त्यसमाथि आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकद्वारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुशी पनि छु ।

भनिन्छ नि, आशाको दीगो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजबुद तुल्याउन सकिन्छ । कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौं । त्यसलाई ब्यूँताउनका लागि गत निर्वाचनमा मेरो नेतृत्व वरिपरी तपाई सबैले आफूलाई उभ्याउनुभयो । यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छौं, जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छाड्दैन त्यसैगरी हाम्रा भर्खर जागृत हुँदैगरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न ।

संसारमा कोही पनि अजम्बरी छैन । मेरो यो संकल्प पनि अजम्बरी बन्न होइन । हाम्रा जागृत हुँदै गरेका सपना साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नुनै भएको छ । म पुन एक पटक आग्रह गर्दछु । मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्कु हुनुस् । हामीले देखेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाई र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर म काममा फर्कने छु । यस बीचमा सरकारका तर्फबाट गर्नुपर्ने सबै काम नियमित रुपमा अघि बढ्ने छ ।

विश्वलाई नै पिरोली रहेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या होस् वा भइपरिआउने कुनै पनि विषयलाई प्रभावकारी ढंगले कार्यान्वयन गरेर परेको समयमा आवश्यक निर्णय लिन सक्ने आवश्यक संयन्त्र र अन्य व्यवस्था मिलाएको छु ।

मेरो अस्पताल बसाईको समयमा पार्टी र संसद दुवैतिर आवश्यक कार्य सम्पादन गर्न जिम्मेवार नेता, कार्यकर्ता, सांसदहरु र लाखौं पार्टी सदस्यहरु निरन्तर क्रियाशील हुनेमा म विश्वस्त छु । मेरो शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण मित्रहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । धन्यवाद । गोरखापत्र अनलाईनबाट

 

Facebook Comments