Fri. Nov 15th, 2024

प्रतिनिधिसभा निर्वाचन : ४० वर्षमुनिका १० र ७० वर्षमाथिका १४ जना सांसद

-भीष्मराज ओझा/काठमाण्डौं, २०७९ मंसिर १६ गते शुक्रबार । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका ९ जनामात्र निर्वाचित भएका छन् ।

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ र राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा यो कूल जनसङ्ख्याको ४० दशमलव ३५ प्रतिशत रहेको छ ।

त्यस्तै ७० वर्षमाथिका भने १४ जना निर्वाचित भएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । साथै सबैभन्दा बढी ४० देखि ७० वर्ष उमेर समूहमा १ सय ३८ जना निर्वाचित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको प्रत्यक्षका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये शुक्रबारसम्म १ सय ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

प्राप्त मतपरिणामअनुसार ४० वर्षमुनिको उमेर समूहबाट नेपाली कांग्रेसका मुस्ताङबाट २९ वर्षका योगेश गौचन थकाली, नेकपा (एमाले) का बारा-२ बाट ४० वर्षीया ज्वालाकुमारी साह र मकवानपुर-२ बाट ४० वर्षीय महेशकुमार बर्तौला तथा नेकपा (माओवादी केन्द्र) का मोरङ-४ बाट ३७ वर्षीय अमनलाल मोदी हुनुहुन्छ ।

यस्तै ४० वर्ष उमेर समूह मुनिका राष्ट्रिय प्रजातन्त्र पार्टीका जुम्लाबाट ३० वर्षीय ज्ञानबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं-२ बाट २७ वर्षीया सोविता गौतम, ललितपुर-३ बाट ३३ वर्षीया तोसिमा कार्की, चितवन-१ बाट ३९ वर्षीय हरि ढकाल हुनुहुन्छ । नागरिक उन्मुक्ति पार्टीका कैलाली-१ बाट ३९ वर्षीया रञ्जिता श्रेष्ठ र कैलाली-२ बाट ३७ वर्षीय अरुनकुमार चौधरी सो उमेर समूहमा रहनुभएको तथ्याङ्मा उल्लेख छ ।

७० वर्ष माथिका सांसद    

यसैगरी ७० वर्ष माथिको उमेर समूहमा कांग्रेसका डडेल्धुराबाट प्रधानमन्त्री एवं सभापति ७७ वर्षीय शेरबहादुर देउवा, तनहुँ-१ बाट ७८ वर्षीय रामचन्द्र पौडेल, नुवाकोट-२ बाट ७५ वर्षीय अर्जुननरसिंह केसी, उदयपुर-१ बाट ७३ वर्षीय डा नारायण खड्का, मोरङ-६ बाट ७२ वर्षीय डा शेखर कोइराला हुनुहुन्छ । यस उमेर समूहमा एमालेका झापा-५ बाट ७० वर्षीय केपी शर्मा ओली र कपिलवस्तु-३ बाट ७७ वर्षीय मङ्गलप्रसाद गुप्ता रहनुभएको छ भने नेकपा (माओवादी केन्द्र)का सर्लाही-२ बाट महिन्द्र राय यादव हुनुहन्छ ।

जनता समाजवादी पार्टी नेपालका ७३ वर्षीय नवलकिशोर साह सुडी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रुपन्देही-३ बाट ७१ वर्षीय दीपक बोहरा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-२ बाट ध्रुवबहादुर प्रधान ७० वर्षभन्दा माथिको उमेर समूहका हुनुहुन्छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महोत्तरी-३ बाट ८० वर्षीय महन्थ ठाकुर र रुपन्देही-४ बाट ७२ वर्षीय सर्वेन्द्रनाथ शुक्ला तथा राष्ट्रिय जनमोर्चाका बागलुङ-१ बाट ८० वर्षीय चित्रबहादुर केसी यस उमेर समूहका हुनुहुन्छ ।

Facebook Comments