Fri. Oct 18th, 2024

चीनले भारतलाई कहिल्यै रणनीतिक प्रतिद्वन्द्वीका रूपमा हेर्दैन

ढाका, २०७९ कात्तिक ११ गते शुक्रबार । चीनले भारतलाई रणनीतिक प्रतिद्वन्द्वीका रूपमा कहिल्यै नहेर्ने बङ्गलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले बताएका छन् । ढाका प्रेस क्लबमा बुधबार भएको एक कार्यक्रममा उनले आर्थिक, भूराजनीतिक एवम् अन्य समस्या समाधान गर्न भारत र चीनले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

भारतका लागि चिनियाँ राजदूत सन वेइडोङले आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्कनुअघि “हामी भारतलाई चीनको रणनीतिक रणनीतिक प्रतिद्वन्द्वीको रूपमा कहिल्यै हेर्दैनौँ, भारत-चीन दुवैले भूराजनीतिको जालबाट बाहिर निस्केर विगतभन्दा फरक नयाँ बाटो खोज्नुपर्छ,” भनेको केही दिनपछि राजदूत लीबाट यो टिप्पणी आएको हो ।

राजदूत सुनले भारत र चीनबीचका मतभेद समाधान गर्दै एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई कायम राख्नुपर्नेमा जोड दिएका थिए । बेइजिङ र नयाँदिल्लीले मतभेदको व्यवस्थापन र समाधानको प्रयास गर्नुपर्नेमा जोड दिँदै उनले चीन-भारत सम्बन्धलाई मतभेदले परिभाषित गर्नुको सट्टा वार्ता र परामर्शबाट उचित समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

चिनियाँ राजदूतसँगको बिदाई भेटपछि भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले चीन–भारत सीमा क्षेत्रमा शान्ति कायम गर्न तथा शान्तिपूर्ण द्विपक्षीय सम्बन्धलाई अक्षुण्ण राख्न अपरिहार्य भएकामा जोड दिँदैे भारत-चीन सम्बन्ध सामान्यीकरण हुनु दुवै देशका लागिमात्र नभई एशिया र समग्र विश्वको हितमा रहेको बताएका थिए ।

सन् २०२० मा लद्दाखको दोक्लाममा भएको दोहोरो झडपपछि चिसिएको चीन-भारत सम्बन्धलाई पुनः पुरानै अवस्थामा फर्काउन तथा आपसी सम्बन्धलाई व्यवस्थित गर्न दुवै पक्षले प्रयास गरिरहेका छन् । रासस/एएनआई

Facebook Comments